Logo
Logo

म्यादी प्रहरीको सुविधा बढ्यो


20.2k
Shares


काठमाडौं । दुर्गम क्षेत्रमा खटिने म्यादी प्रहरीको रासनभत्ता बढ्ने भएको छ । यसअघि खान पनि नपुग्ने गरी रासनभत्ता दिइएको थियो ।आइतबारको मन्त्रिपरिषद्को बैठकले कम्तीमा हिमाली जिल्लामा खटिएका म्यादीलाई त्यहाँकै दररेटअनुसार राशनभत्ता उपलब्ध गराउने निर्णय भएको छ ।


४० दिन खटिने म्यादी प्रहरीले एकमुस्ट सात हजार दुई सय रासन खर्च दिने निर्णय भएको थियो । दुर्गमका जिल्लाहरूमा त्यो रकमले २० दिन मात्र रासन खर्च धान्ने अवस्था थियो । स्रोतको अभाव देखाउँदै अर्थ मन्त्रालयले म्यादी प्रहरीको रासन भत्तासमेत कटौती गरेको थियो । विगतमा म्यादीलाई नेपाल प्रहरीबराबर नै रासन खर्च दिइन्थ्यो । हरेक जिल्लामा त्यहाँको खाद्यान्नको महँगीअनुसार रासन भत्ता दिने गरिएको छ । तर, सरकारले यो वर्ष रासन खर्चमा प्रहरी र म्यादीलाई फरक–फरक नियम लागू गरेपछि समस्या भएको हो । ७७ जिल्लामै एउटै दरको रासन भत्ता दिने सरकारको निर्णय अव्यावहारिक भएको भन्दै आलोचना भएको थियो । खासगरी हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई त्यसबाट ठूलो अन्याय हुने भएपछि निर्णय सच्याइएको हो ।


अहिले प्रहरीले न्यूनतम एक सय ८१ रुपैयाँदेखि आठ सय ६४ रुपैयाँसम्म दैनिक रासनभत्ता पाउँछन् । उपत्यकामा कार्यरत प्रहरीले दैनिक दुई सय १ रुपैयाँ अर्थात् ४० दिनको ८ हजार ४० रुपैयाँ पाउँदा म्यादीले भने सात हजार दुई सय मात्र पाउनेछन् ।

४० दिन खटिने म्यादीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च, ६ हजार पोसाक र एक हजार यातायात खर्च दिने निर्णय भएको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले कम्तीमा हिमाली जिल्लामा खटिएका म्यादीलाई त्यहाँकै दररेटअनुसार राशनभत्ता उपलब्ध गराउने निर्णय भएको छ । साथै डिउटीका खटिएको बेला मृत्यु भए आश्रीत परिवारलाई २० लाख आर्थिक सहायता दिने तथा घाइते भए उपचारखर्च बेहोर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्