एजेन्सी । हङकङको नयाँ नेतामा पूर्व सुरक्षा प्रमुख जोन ली चयन भएका छन् । बीबीसीका अनुसार आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द चुनावी प्रक्रियामार्फत ली हङकङको नयाँ नेता चुनिएका हुन् ।
लीको नियुक्तिलाई हङकङमा आफ्नो पकड बलियो गर्ने चिनियाँ कदमका रूपमा हेरिएको छ । चीनका प्रखर समर्थक ली खासै लोकप्रिय नभएका बीबीसीमा उल्लेख छ ।
तर, नागरिकसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ हुँदैन । हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिलाई छ । जसमा सबैजसो चीनका समर्थकहरू छन् ।
लीले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नेछन् । लीले यसअघि सन् २०१९ को लोकतन्त्र समर्थकहरूको प्रदर्शन नियन्त्रणको जिम्मेवारी सम्हालेका थिए ।
उनले सन् २०२० मा एउटा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागू गर्न समर्थन गरेका छन् । जसले हङकङको स्वायत्ततालाई घटाएको छ ।
चीनका नीतिहरूप्रति बलियो समर्थनका कारण लीको नेतृत्वले अर्धस्वायत्त क्षेत्र हङकङमा अझ कठोर चिनियाँ नियन्त्रण सुरु गर्न सक्ने डर उत्पन्न भएको जनाइएको छ ।