काठमाडौं । ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई प्रहरीले निलम्बन गरेको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेकोले निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको बारेमा समाचार आएपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नै निलम्बन गर्न निर्देशन दिएका थिए । उनलाई थुनामा समेत राखिएको स्रोत बताउँछ ।
प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
उनले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू सामान्य घाइते भएका थिए ।