काठमाडौं । व्यवसायको आवरणमा अनेक गतिविधिमा संलग्न दुबईका नेपाली व्यापारीमाथि छानबिन अघि बढेको छ । सयौं नेपाली युवायुवतीलाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स(यूएइ) लगेर ठगी गरेको अभियोगमा दुबईमा बस्दै आएका नेपाली व्यवसायी कोमलराज उपाध्यायलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले गत साता उनीविरुद्ध रेट नोटिस जारी गरेको हो ।
उपाध्यायविरुद्ध ४० जनाले केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा ठगी र मानवतस्करीको जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहका नाइकेहरूलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउन लागिएको हो । दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सलटेन्स नामक कम्पनी चलाउँदै आएका उपाध्याय र उनका साझेदारहरुले यस्तो धन्दा चलाएको प्रहरीले जनाएको छ । उनका अन्य साझेदारहरुमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पीडितहरुकै उजुरीका अधारमा उपाध्याय लगायत दुबईमा बस्ने अन्य नेपालीहरुमाथि अनुसन्धान भइरहेको सिआइबीका निमित्त प्रमुख एसएसपी कुबेर कठायत बताउँछन् । ‘उपाध्यायले धेरैलाई दुबई लगेर अलपत्र पारेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाएका छौं, उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको छ,’ एसएसपी कठायत भन्छन्,‘इन्टरपोलसँगकै सहकार्यमा अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान गरिरहेका छौं ।’
सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए । त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेको थियो । कोरोना महामारीले त्यसरी पुगेकाले रोजगारी नपाएपछि सडकमा अलपत्र परेका थिए ।
धेरै नेपाली अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । सो समितिले भिजिट भिसामा सबैभन्दा धेरै समस्या यूएइमा रहेको औंल्याएको थियो । समितिको प्रतिवेदनअनुसार सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा युएइ पुगेका थिए । धेरै जसो रोजगारीकै खोजीमा त्यहाँ गएको समितिको निष्कर्ष छ । यूएइ सरकारले भिजिट भिसालाई कामदार भिसामा सहजै परिवर्तन गर्ने भएकाले यसमा गिरोहहरु नै सक्रिय हुने गरेका छन् ।
सयौं नेपाली यूएइ लगायत देशमा अलपत्र परेपछि सरकारले भिजिट भिसासम्बन्धि मापदण्डमा हेरफेर गरी कडाई पनि गरेको थियो । गत वर्ष १० माघदेखि लागू हुने गरी खाडीका १८ देश तथा मलेसियामा भिजिट भिसामा अत्यावश्यक काम बाहेकको अवस्थामा जान रोक लगाइयो । हाल १८ बुँदे मापदण्ड लागू गरिएको छ । अहिले पनि भिजिट भिसामा हुने मानवतस्करी नरोकिएको स्रोत बताउँछ । भिजिट भिसाको दुरुपयोग रोक्न नयाँ कार्यविधि बनाएर गृह मन्त्रालयमा पठाइएको र स्वीकृत भएपछि लागू हुने अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई बताउँछन् । जसमा घुम्नकै लागि विदेश जानेले अनिवार्य रुपमा निश्चित बैंक ब्यालेन्स देखाउनुपर्ने प्रस्ताव गरिएको छ । कतिपय अवस्थामा अध्यागमन कर्मचारीकै मिलेमेतामा समेत भिजिट भिसामा मानवतस्करी भइरहेको विभिन्न छानबिनले देखाएको छ ।