काठमाडौं । चलचित्र ‘कबड्डी–४’ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रले सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान गरेको हो ।
रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको यस चलचित्रले पाँच दिनमा अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको फिल्मका वितरक गोविन्द शाहीको भनाई छ । यो चलचित्रले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको हो ।
पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमाएको छ । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।
नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ ।
‘छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । ‘ए मेरो हजुर ३’को कुल ग्रस कमाइ ९ करोड रुपैयाँ छ ।
दोस्रो साता कमाइको स्थिर ट्रेन्ड कायमै रहे ‘कबड्डी ४’ले छक्कापञ्जा तीनको कीर्तिमानलाई छोड्नेछ । तर दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती पनि छ । तर विश्लेषकहरुले यो फिल्मको लाइफटाइम कलेक्सन ‘छक्कापञ्जा ३’भन्दा बढी हुने अनुमान गरेका छन् ।
बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ । मोफसलका सिंगल स्क्रिनमा विकडेजमा अकुपेन्सी ड्रप भए पनि मल्टिप्लेक्स चाहिं अकुपेन्सी घटेको छैन । गत शुक्रबार रिलिज भएको फिल्म ‘कबड्डी ४’ले तीन दिन लगातार हाउसफुलको व्यापार गरेको थियो । कबड्डी–४ फिल्मप्रति दर्शकको आकर्षण घटेको छैन ।
रामबाबु गुरुङद्वारा निर्देशित कबड्डी–४ करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो । यो चलचित्रले डिजिटल राइट्स र ओभरसिज राइट्स बेचेर रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको थियो ।