काठमाडौं । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि स्थगित भएको छ । शुक्रबारदेखि एक साताका लागि भन्दै कम्पनीले बिहीबार सूचना निकालेर उडान स्थगित गरेको हो ।
गत साता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनटर जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गुमेको थियो ।
जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएपछि बिहीबार हुने तारा एयरका सबै उडान रद्द गरिएकाे थियाे । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको तारा एअरले जनाएको हो ।
मौसम विभागले बिहीबार सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स्पष्टीकरण छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।