Logo
Logo

केयूले आइआइटीएच, आइआइआइटिएचसँग संयुक्त डिग्री कार्यक्रम चलाउने


945
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले भारतका दुई शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटिएच) हैदराबाद र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी, हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस सम्बन्धमा केयू र आइआइटिएच तथा आइआइआइटिएचबीच समझदारी र सम्झौताहरु भएका छन् । नेपालको स्वास्थ्य सेवाको आवश्यकता परिपूर्ति गर्न आगामी शैक्षिक सत्रदेखि नै संयुक्त डिग्री कार्यक्रमहरु सुरु हुने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए ।

यसअन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरुमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा–आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदानप्रदान हुने बताइएको छ ।

इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चालन हुने बताइएको छ । यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले विश्वास व्यक्त गरे ।

स्वास्थ्य विज्ञानतर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरपुरस्थित पुरानाने मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज)को हेल्थकेयर टेक्नोलोजी इन्नोभेसन सेन्टर (एचटिआइसी)मा हुने बताइएको छ ।

एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँ नयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउनेमा इन्कुबेशन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्ने आशा राखिएको छ ।

एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालन गर्नेछ । स्नातकोत्तर कार्यक्रम र पिएचडी शोध चारपक्षीय संकायबाट सञ्चालन हुनेछ ।

विद्यार्थीले सुरुका ६ महिना कलेज अफ मेडिकल साइन्समा अध्ययन÷अनुसन्धानको काम गरेपछि उपयुक्तता अनुसार ६ महिनाका लागि अध्ययन÷अनुसन्धान गर्न आइआइआइटिएच वा आइआइटिएच पठाइनेछ ।

त्यसपछि आवश्यकता अनुसार विद्यार्थीलाई ३ देखि ६ महिना एसओई पठाइनेछ । त्यसपछिका बाँकी अवधि उनीहरुले कलेज अफ मेडिकल साइन्स फर्केर आफ्नो अध्ययन अनुसन्धान पूरा गर्नेछन् ।

सम्झौता अनुसार त्यस्ता विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा चारवटै संस्थाको दस्तखत र छाप हुनेछ । एचआइटिसीले स्नातकोत्तर र पिएचडीका लागि आधारको भूमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्