काठमाडौं । बंगलादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको उनीहरुको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने बताइएको छ । विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन् । विस्फोट भएको घण्टौं भइसक्दा पनि आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइनसकेको बीबीसीले उल्लेख गरेको छ ।