Logo
Logo

वडाध्यक्षको सक्रियतामा उठाउन थालियो काठमाडौं-१६ का फोहोर


8.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन् ।

सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए ।

रिजालले सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताएका छन् ।

सोमबार बिहान बसेको वडा समितिको बैठकले फोहोर उठाउने निर्णय गरेको भट्टराईले बताए । उनले भने,
‘ल्यान्डफिलमा अवरोध भएर धेरै दिनसम्म सडकमै फोहोर थुप्रिएपछि वडाको फोहोर उठाउन अध्यक्ष आफैंले पहल गर्नुभएको हो ।’

सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको उनले बताए । उनले भने, ‘अहिले फोहोर उठाउँदै छौं, हाललाई यो फोहोर वडा नम्बर १६ कै एउटा खाली स्थानमा लगेर पुर्ने योजना बनाएका छौं ।’

वडाध्यक्ष रिजालले आफ्नो फेसबुकमार्फत फोहोर उठाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘वडा नम्बर १६ को चोक चोकमा थुप्रिएको फोहोरहरु वडाकै पहलमा उठाएर तत्काल फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल गर्ने कार्यको सुरुवात गरियो । सोह्रखट्टे चोकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेका छौं । सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा राख्दछौं ।’

उनले गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने भट्टराईले बताए । तर बस्ती बाहिर ठाउँमा पुर्ने योजना रहेको उनले बताए । यो फोहोर उठाएर अस्थायी समाधानमात्र गरेको भट्टराईको जिकिर छ । उनका अनुसार डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगिने छ ।

प्रतिक्रिया दिनुहोस्