Logo
Logo

प्रहरीमा व्यापक हेरफेरको तयारी


866.6k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीमा व्यापक हेरफेरको तयारी थालेका छन् । रिक्त पदमा बढुवा तथा अवधि पुगेकाहरुको सरुवा गरी प्रहरीमा ठूलो संख्यामा हेरफेर गर्न लागिएको छ ।

एआइजी बढुवापछि प्रहरीमा डिआइजी पदमा बढुवा हुँदैछ । डिआइजीका १७ पदमा मुख्यगरी २७ एसएसपीबीच प्रतिस्पर्धा छ । सबै एसएसपी पहुँचवाला छन् भने केही एसएसपी आर्थिक चलखेलकै आधारमा बढुवामा पर्ने प्रयासमा छन् । बढुवाको टप तीनभित्र पर्न सन्दीप भण्डारी, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, रामदत्त जोशी, अशोक सिंह लगायत दौडधुपमा छन् ।

प्रहरी महानिरीक्षक सिंहले बढुवाका लागि नेताको घर धाउनेको रेकर्ड राखिने बताएपनि एसएसपीहरु दैनिक जसो शक्ति केन्द्र धाइरहेका छन् । बढुवाको साँचो आइजिपी त के गृह मन्त्रालयसँग समेत नभएकाले बालुवाटार धाउनुपरेको एक एसएसपी बताउँछन् । एसएसपी बढुवा लगत्तै प्रदेशमा चार डिआइजी खटिनेछन् । प्रदेश नम्बर १, बागमती, गण्डकी र कर्णाली रिक्त छन् । प्रदेश नम्बर २, लुम्बिनी र सुदुरपश्चिममा डिआइजी पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ ।

त्यस्तै, एसएसपी बढुवामा पनि चर्काे प्रतिस्पर्धा छ । एसएसपीका ३१ पद रिक्त हुँदैछन् । जसमा दानबहादुर कार्की, दीपक रेग्मी, दिनेश आचार्य, राजेन्द्र भट्ट लगायत पर्ने पक्का छ । त्यससँगै राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीको बढुवा गर्ने कि २०५६ मा भर्ना भएका एसपीलाई बढुवा गर्ने भन्ने अन्योल छ ।

राअविबाट आएको टोलीका कारण २०५४ र २०५६ मा इन्सपेक्टरबाट भर्ना भएका टोलीको करिअरमा असर परेको थियो । राअवि टोली छाडेर अहिले २०५६ को टोलीलाई बढुवा गरे उनीहरुमाथि परेको अन्याय हटाउने अवसर प्रहरी नेतृत्वसँग छ । तर, राअवि टोली पैसा र पहुँचमा अगाडि रहेकाले उनीहरु शक्तिशाली छन् ।

बढुवासँगै महत्वपूर्ण कार्यालयका इन्चार्ज पनि फेरिदै छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवर र काठमाडौंका एसएसपी सुदीप गिरी डिआइजी बढुवाका दाबेदार हुन् । उनीहरु बढुवामा परे दुवै कार्यालयको नेतृत्व फेरिने छ । त्यस्तै एसपी प्रमुख हुने केही जिल्लाको नेतृत्व पनि फेरिदैछ । बाँके, कास्की सुनसरी, कपिलवस्तु लगायत जिल्लाका एसपीको एक वर्ष पुग्न लागेको छ ।

कास्कीका लागि कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी लगायतको नाम चर्चामा छ । प्रहरी महानिरीक्षक सिंहले सरुवा–बढुवामा निष्पक्ष मूल्याङकन गरिने प्रतिबद्धता सार्वजनिक रुपमै व्यक्त गरेका छन् । त्यसकारण उनले विचौलियाको चलखेल रोक्न सक्छन् कि सक्दैनन् उनको लागि आगामी सरुवा बढुवा परीक्षा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्