प्यूठान । कम्युनिष्टहरुको गढका रुपमा चिनिने प्यूठान जिल्लामा नेपाली कांग्रेसले आफ्नो प्रभाव बढाउँदै लगेको छ । हालै सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले प्यूठानमा ऐतिहासिक जित हात पारेको छ ।
जिल्ला समन्वय समितिको नेतृत्वमा पहिलोपटक कांग्रेस पुगेको छ । कांग्रेस नेता धरमबहादुर जिसी निर्विरोध जिसस प्रमुखमा निर्वाचित भएका छन् । जिजस चुनावमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । हार निश्चित भएपछि एमालेले उम्मेदवारी नै दिएन । जसकारण सबै निर्विरोध भएका छन् ।
जिससमा कांग्रेसले प्रमुखसहित र १ सदस्य पाएको छ । माओवादीले उप–प्रमुखसहित २ सदस्य पाएको छ । राष्ट्रिय जनमोर्चाले ४ जना सदस्य पाएको छ ।
उप–प्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाट टोपाराम कालाथोकी, माओवादीबाट तारा बिक, निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी तथा रेकम रसाइली निर्वाचित भएका छन् ।
पार्टी सभापति विष्णु गिरी र क्षेत्रीय सभापति रोज राणा कांग्रेसलाई जिताउन महिनौंदेखि सक्रिय भएर लागेका थिए । पार्टीका केन्द्रीय सभापतिको निर्देशनअनुसार काम गर्दा प्यूठानमा नेपाली कांग्रेसले सफलता हात पारेको क्षेत्रीय सभापति राणा बताउँछन् ।