काठमाडौं । एक डनलाई भेट्न जेल पुगेपछि डिएसपी मिलन केसी छानबिनमा तानिएका छन् । स्वयम्भु वृत्तमा कार्यरत डिएसपी केसी गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेट्न केही दिनअघि केन्द्रीय कारागार गएका थिए ।
उनको बस्नेतलाई भेटेको पुष्टि भएको र प्रारम्भिक छानबिनमा त्यो काम गैरव्यवसायिक देखिएपछि काठमाडौं परिसरले छानबिन थालेको छ । एसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।उनलाई स्वयम्भु वृत्तबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।
गुन्डा नाइके बस्नेत जेलभित्रैबाट अपराधिक गतिविधिमा संलग्न व्यक्तिका रुपमा चिनिन्छन् । उनले केन्द्रीय कारागारबाटै गिरोह परिचालन गरी व्यापारीहरुलाई पैसा मागेका थिए । उनी निर्माण व्यवसायी शरद गौचनको हत्या मुद्दामा जेल परेका हुन् ।
एसपी बढुवाको मुखमा रहेका डिएसपी केसीको करिअर यो प्रकरणले चौपट हुने भएको छ ।