वासिंगटन, २५ पुस (सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय संकट बढेको बताएका छन् ।
बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । अमेरिकी संसदले पर्खाल निर्माण कार्य ‘अनावश्यक र बढी खर्चिलो’ भन्दै राष्ट्रपति ट्रम्पले माग गरेको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ ।
संसद र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि संघीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएका छन् । करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ ।
राष्ट्रपति ट्रम्पले मंगलबार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिएको सम्बोधनमा भने, ‘यो संकट हृदयको अनुभव हो, त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको संकट हो ।’
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागूऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताए ।
विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भने, ‘मैले संसदका नेताहरुलाई छलफलका लागि भोलि नै ह्वाइट हाउसमा आमन्त्रण गरेको छु । आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं । यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्दछ ।’
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरे ।
राष्ट्रपतिको सम्बोधन लगत्तै टेलिभिजनमार्फत् सम्बोधन गर्दै विपक्षी डेमोक्र्या्टिक पार्टीका नेताहरूले अमेरिकी संघीय कार्यालयहरु बन्द राखेर नागरिकलाई बन्धक बनाएको बताए । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गर्नुभएको रकम अनावश्यक रहेको दाबी गरे ।