Logo
Logo

जनयुद्धको उपलब्धिलाई कमजोर ठान्नु इतिहासप्रति अन्याय : प्रचण्ड


2.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताएका छन् ।

फाइल फोटो

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।

‘परिर्वतन पछाडि केही भएन, राजनीतिक दलहरूले केही पनि गरेनन् भन्ने सत्य होइन,’ उनले भने, ‘नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि ऐतिहासिक महत्वका राजनीतिक परिवर्तन मात्रै होइन, त्यो परिवर्तनलाई संवैधानिक ढङ्गले संस्थागत गर्ने प्रक्रियासमेत संविधानसभाबाट भएको छ, यसलाई कम ठान्नु हुँदैन ।’

१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता स्थापित भएको बताए । उनले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताए ।

संविधानको प्रस्तावनामा नै मुलुक समाजवादउन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकको जीवनस्तरलाई माथि उठाउन संविधानले धेरै महत्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताए ।

‘प्राप्त उपलब्धिलाई खासै केही होइन, जनताले अहिले पनि केही पाएका छैनन् भनी व्याख्या गर्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको जगबाट जुन परिवर्तन आएको छ, परिवर्तन र जनताको अपमान हुन्छ’, उनले भने, ‘तर हामी पूर्ण रुपमा सन्तुष्ट छैनौं, संविधानमा व्यवस्था भएअनुसार ऐन बनाउन सकेका छैनौं ।’

उनले परिवर्तनलाई जनताको घर दैलोमा पु¥याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनुपर्नेमा राजनीतिक नेतृत्वबीच समान सोच बन्न नसकेको बताए । ‘एकथरीलाई यो उपलब्धि मन परेको छैन, परिवर्तन विरोधी तत्वहरु कहीँ न कहीँ संविधानलाई नै खारेज गर्न लागि परेका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्