हिजो (बुधबार) असार १५ । अर्थात् राष्ट्रिय धान दिवस । दही-चिउरा खाने दिन । मानो रोपेर मुरी उब्जाउने समय ।
हिजो देशभर भव्यताकासाथ राष्ट्रिय धान दिवस मनाइयो । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसानलाई अभिप्रेरित गर्न यो दिवस मनाउन सुरु गरिएका हो ।
हुनेखानेलाई मजैले असार १५ लाग्यो । ३६४ दिन शरिरमा हिलो लाग्ला कि भनेर भाग्नेहरु पनि हिलोसँग रमाए । खेले ।
जहिल्यै सुटबुटमा ठाँटिएर हिड्नेहरु पनि खेतमा भेटिए । टि-सर्ट र कुट्टुमा । तर, कुरा चाहिँ सुटबुटकै शैलीमा । नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्न सक्नेसम्म भन्न भ्याए ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालले २७ अर्बको चामल र १६ अर्बको धान आयत गरेको हेक्का भने राखेनन् ।
नेता, कलाकार, पत्रकार सबै खेतमै भेटिए । सबै एकदिने किसान बने । हलो, कोदालो नदेख्नेहरु मोबाइल र क्यामेर बोकेर रोपाइँ गर्न तम्सिए । रोपाइँमा मोबाइल र क्यामेराको प्रयोग हुँदैन भन्ने सायद थाहा नहुन सक्छ !
असार १५ रमाइलो पर्व बन्यो । विभिन्न पार्टीले रोपाइँको आयोजन गरे । नेता-कार्यकताले फोटो खिचाए । रमाइलो गरे । नाटक प्रर्दशन गरे । खै, कुन पार्टीको हो ‘रेस्लिङ म्याच’ पनि भएछ ।
समाजिक सञ्जालभरि छरपस्ट भयो, दही-चिउरा । ‘ह्यापी असार १५’ ले भरियो ।
तर, वास्तविक किसानलाई दही–चिउरा मिल्यो कि मिलेन भन्ने समेत पत्तो भएन ।
०००
गाउँघरमा एक महिना आसार १५ मनाइन्छ । न राष्ट्रिय धान दिवस थाहा हुन्छ । न त दही-चिउरा खाने दिन नै । थाहा हुन्छ त केवल आज यति मेलो सकाउनुपर्छ । गहिरी खेत रोपेर सक्नुपर्छ । यति गेतसम्म डाँडा खेत सक्नुपर्छ । आज फलनाको मेला । भोलि फलनाको, पर्सि फलनाको…।
एकछिन रोपाइँ गर्नेलाई कति आनन्द ! हुल बाँधेर गयो । जिउभर हिलो दल्यो । निधारमा धान रोप्यो ! केही थान सेल्फी हान्यो । दुई-चार टिकटक बनायो । दही-चिउरा खायो । ‘ह्यापी असार १५’ भनेर पोस्ट्यायो । क्या रमाइलो !
उनीहरुलाई अर्को कुरा पनि थाहा छ- यो काम गर्ने समय हो । रमाइलोमा भुलिन हुँदैन । मानो रोपेर मुरी उब्जाउनै पर्छ । वर्षभरी पुग्ने धान रोप्नैपर्छ ।
तर एकदिन, एकछिन असार १५ मनाउनेलाई कति आनन्द ! हुल बाधेँर गयो । जिउभर हिलो दल्यो । निधारमा धान रोप्यो !धानको बीउको माला लगायो । केही थान सेल्फी हान्यो । दुई, चार टिकटक बनायो । दही–चिउरा खायो । ‘ह्यापी असार १५’ भनेर पोस्ट्यायो । क्या रमाइलो !
उपद्रो पनि कति हो कति । बँधुवा गाई-बस्तुकाे जस्तै । वर्षभरी बाँधेको गाई-बस्तुलाई एकदिन फुकाइदिँदा कस्तो हुन्छ ? हिजो रोपाइँ गर्ने पनि त्यस्तै थिए ।
ओरिजनल रोपाइँ त एक महिना आसर १५ मनाउनेलाई मात्रै थाहा छ । वर्षभरका छाक जुटाउन सूर्यले भुइमा पाइला टेकेदेखि झ्याउकिरीले गीत नगाएसम्म खेतमा काम गर्नेलाई थाहा छ ।
०००
वास्तविक किसानको पीडा छुट्टै छ । मल अभाव । बीउ अभाव । सिचाइँ अभाव । डिपोमा घण्टै लाइन बस्दा पनि मल पाँइदैन । पानीको लागि ‘भ्यगुताको बिहे’ गदिरिनुपर्छ । पूजा लगाउनुपर्छ ।
उनीहरुको कन्त बिजोग न सामाजिक सञ्जालमा पोस्ट्याइन्छ । न त सर सम्बन्धित निकायले नै देख्छ ।
हुन त यो कृषिको पहिचान नै हो क्यारे !
०००
मैले रोपाइँ नगरको एक दशक पुग्न लागेछ । दशक पुग्न एक साल मात्रै बाँकी छ । तर, भुलेको छैन रोपाइँ, खेतका गरा, आली, कल्ला, कोदालो, हलो, जुावाँ, हसिर, अनौं, सोइला, हल्लुँड, फेउरी ।
सबै-सबै याद छ । विर्सेको छैन चाम्रे । गुन्द्रुक र गोलभेडाको अचार । आलुको सब्जी । फर्सीको मुन्टा । मकैबारीको काक्रो ।
अहिले पनि त्यो रोपाइँ ताजै छ । तर, जसको तस्बिर छैन । यादहरुको अनगिन्ती सङ्हालो मात्रै छ ।
ताजै छ-
काँधमा हलो र जुवा भिरेर गोरुलाई पछ्याउँदै हिँडेको । बिहानदेखि बेलुकासम्म अनौं समातेर ह.. ह.. भन्दै खेतका चार कुना घुमेको ।
हिलोले खाएका खुट्टाका कापहरु । उमालेको जस्तै खेतमा जमेको पानी । हिलाउदा पानी नपुगेर आकाश हेर्दै बसेको । मकैका डोढले काटेका पाइताला । ठेस लागेर उक्किएका खुट्टाका औँलाका नङ ।
आली लगाउँदा लगाउँदा कोदालीको बिडजस्तै भएको डाढ ! आलीमा बसेर थकान मार्दा मज्जा । कल्लामा ढाड सोझाउँदको आनन्द । रोपाइँ गर्न रातभर कुलोमा धाउँदाको दुःख ।
पक्कै ती कुनै रमाइलो विषय थिएन । र, हुँदैन पनि ।
याद छैन, रोपाइँमा दही-चिउराको खाजा !
खाजा हुन्थ्यो- चाम्रे, गुन्द्रुकको अचार, आलुको सब्जी, फर्सीको मुन्ना । सबैको रोपाइँमा खाजा यही । जातिअनुसार केहीले जाँड पनि दिन्थे ।
कुनैबेला दिनभरको खुशी राति लुटिन्थ्यो । दुःखले रोपेको रोपो राति परेको पानीले सबै बगाइदिन्थ्यो । छङ्छङ् बगेको वर्षे भेल । खोल्साखाल्सीको दादागिरी ! सबै ताजै छन् ।
तर, त्यो रोपाइँ र अहिलेको असार १५ आकाश पातल फरक छ । हिजो मनाएको धान दिवसले किसानको खिलाफ उडाएको भान हुने । ‘… लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै ।
०००
अहिले कृषि प्रणाली परिस्कृत हुँदैछ । परिमार्जित हुँदैछ । आधुनिक प्राविधि तथा वैज्ञानिक पदद्तीको अबलम्बन गर्न थालिएको छ । रोपाहारको सट्टा धान रोप्ने मेसिन प्रयोग हुन थालेको छ ।
तर, जति नै परिस्कृत र परिमार्जित भएपनि मोबाइल र क्यामेराले रोपाइँ गरिँदैन । एकदिन हिलो खेलेर, कोदाली समातेर फोटो खिच्दैमा रोपाइँ हुँदैन ।
खैर ! आशा राखौं, गाउँ पनि चाडैँ आधुनिक प्राविधि तथा वैज्ञानिक पदद्तीको कृषि पुग्नेछ । किसानका पाइतालाले, हिलोले खएका खुट्टाका कापले, कोदालो, हलो, जुावाँ, हसिर, अनौं, सोइला, हल्लुँड, फेउरी सबैले राहत पाउनेछ ।
तर, आधुनिकताको नाममा धान दिवसमा देखिएका हर्कत गर्नु हुँदैन । परम्पराका नाममा नग्न शरीरमा हिलो दलेर धान रोप्ने काम बन्द गर्नुपर्छ । खेती गर्दा दुःख पीडा बिर्साउन असारे गीत गाउने, हिलो छ्यापेर मनोरञ्जन गर्ने बाध्यतालाई मजाक बनाइनु हुँदैन ।
हिलो छ्यापा छ्याप गर्ने चाहना होस् या नहोस् जबरजस्ती हिलोमा पछार्ने, उच्छृङ्खल काम गर्ने, गित गाउने बाहनामा अपशब्द प्रयोग गर्ने, मादक पदार्थ सेवन गर्ने जस्ता कृयाकलापहरु बन्द गर्नुपर्छ ।
एकातिर विदेशबाट वर्षेनी चामल आयात गनुपर्ने बाध्यता छ । अर्को तिर हाम्रो मौलिकता र परम्परा लोप भई वर्षेनी धान दिवसको नाममा विकृति फैलिरहेको छ ।
धान दिवसको नाममा जथाभावी फोटो खिच्ने, उच्छृङ्खल काम गर्नाले चाडपर्वको नाममा विकृति फैलिरहेका छ । धान दिवस मात्र नभएर धेरै मौलिक तथा संकृतिक रितिरिवाज तथा चाडपर्वको नाममा विकृति फैलिरहेको छ ।
यसलाई रोक्न सबै सचेत हुनैपर्छ । सकेसम्म, श्रोत र साधनले भ्याएसम्म हाम्रो मौलिकता तथा परम्पराहरुलाई बचाई राख्नु पर्दछ ।