Logo
Logo

बीउ नहुँदा किसानको पिरोलो


126
Shares

महोत्तरी । मुलुकभर असारे १५ पर्वका अवसरमा धान रोपाइँ दिवस मनाइएका समाचार आइरहँदा महोत्तरी जिल्लाका किसान भने बीउको चिन्ताले पिरोलिएका छन् ।

असार लागेदेखि नै बेलाबेलामा पानी परिरहे पनि यसपालि बीउ पर्याप्त नहुँदा धान रोपाइँले गति नलिएपछि किसान पिरोलिएका हुन् । मध्य असार नाघिसक्दासम्म जिल्लामा यसपालि १० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

‘जेठ तेस्रो साताभित्र हिउँदे धानको बीउ छरिसक्नुपर्ने हो तर यसपालि कृषि सहकारीमा न धानको बीउ पाइयो न मल नै’, जिल्लाको भङ्गाह नगरपालिका–७ मेघनाथ गोरहन्नाका किसान रामबाबु चौधरी भन्छन्, ‘समय नाघ्नै लाग्दासम्म बीउ, मल नपाएपछि घरकै पुरानो धानको ब्याड राख्यौँ, त्यही बीउ रोप्दैछौँ ।’

मध्य असारताका भ्याइनभ्याई, खाइनखाई रोपाइँमा लाग्नुपर्ने बेला गरामा डम्म भरिएको खेत हेर्दै विरक्तिनुपरेको किसानको भनाइ छ । असार तेस्रो साताभित्र बीउ रोपिसकेर साउन तेस्रो साताभित्र खरुवन (कलम, बीउ रोप गाँजिएपछि उखेलेर रोप्नेलाई खरुवन रोप भनिन्छ) रोपिने चलन छ । तर यसपालि बीउ रोप (शाही रोप) गर्न पर्याप्त बीउ बेर्ना नभएपछि धेरैजसो खरुवनकै भरपर्नुपरेको किसानको भनाइ छ ।

‘रोप्दारोप्दै बीउ अपुग भएपछि खरुवनबाट भर्ने गरिन्थ्यो, यसपालि चाहिँ रोपाइँमा खरुवनकै भर हुनेभयो’, बलवा नगरपालिका–१० का उत्तिम माझी भन्छन् । बीउ ब्याडमा राख्न ढिलाइ भएको हुँदा यसपालि शाही रोप असारभरि गरिने किसान बताउँछन् ।

महोत्तरीमा सामान्यतया असारभरि बीउको रोप र त्यसपछि साउनभरि खरुवन (कलमी रोप, पहिले रोपिएको बीउको रोप गाँजिएपछि त्यही रोपो उखेलेर गरिने धान रोपाइँ) रोप गरिने चलन छ ।

यसपालि मध्य असारसम्म सघन रोपाइँ हुन नसकेपछि साउनको पहिलो सातापछि सुरु हुने खरुवन रोपका लागि पनि पर्याप्त बीउ नहुने किसानले बताएका छन् । ‘शाही रोप नै ढिलो भएपछि खरुवन रोप पनि ढिलो हुने नै भयो’, औरही गाउँपालिकाको भोइलका किसान मोहन महतोले भने, ‘यसपालि मौसम अनुकूल भए पनि राम्ररी धान लगाउन सकिने छाँट छैन ।’

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धान खेती ५० हजार हेक्टर हाराहारीमा गरिँदै आइएको छ । कूल जग्गाको १० प्रतिशतमा मात्र स्थायी सिँचाइको प्रबन्ध छ ।

धेरैजसो आकाशे पानीका भरमा गरिने खेतीमा ठीक तुक (समय) मा पानी नपरे त्यत्तिकै हस्सिने स्थिति आउने किसान बताउँछन् । ‘न सिँचाइको प्रबन्ध, न बीउ मल पाइन्छ बजारमा, न उत्पादित फसलको सुनिश्चित बजार नै छ’, लोहारपट्टी नगरपालिका–१ बगडाका किसान प्रयाग यादव भन्छन्, ‘हाम्रो खेती सबै दैवकै भर ।’

जिल्लामा अहिलेसम्म करिब चार हजार हेक्टरमा धान रोपाइँ भइसकेको हुँदा अपुग बीउमा खरुवनको रोपले ढाक्न सकिने डा यादवको भनाइ छ । विकसित जातका धान साउन तेस्रो सातासम्म र स्थानीय जातका (रैथाने जात) धान भदौभरि खरुवनमा रोप्न सकिने भएकाले अपेक्षित रोपाइँ हुने विज्ञको मत छ ।

प्रतिक्रिया दिनुहोस्