काठमाडौं । चार वर्षअघिको एउटा सफल फिल्म प्रसादको सिक्वेलका रुपमा प्रसाद २ बन्ने भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य अभिनयमा रहने यसको फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक घोषणा गरेको हो ।
सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्ममा निश्चल बस्नेतको ठाउँमा अर्पण थापालाई राखिएको छ ।
निर्माणमा सुभाष थापासँगै व्यवसायी केशव पाण्डे पनि जोडिएका छन् । यसअघि मेडिकल व्यवसायमा आबद्ध पाण्डेको फिल्म क्षेत्रमा यो पहिलो लगानी हो । नेपाली फिल्म क्षेत्रलाई योगदान गर्ने चाहनाअनुसार फिल्म क्षेत्रमा प्रवेश गरेको पाण्डेले बताए ।
सञ्चारकर्मी सुशील पौडेलको फिल्म लेखेका हुन् । निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाएको बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको उनको प्रतिक्रिया छ । लेखक पौडेलले यो फिल्म नाम मात्रैको सिक्वेल नहुने बताउँछन् । ‘जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद २ त्यहिँबाट सुरुहुनेछ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै फिल्मको केन्द्र हो’, पौडेलले भने ।
अब विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा फिल्मको मुख्य अभिनयमा रहनेछन् भने साथमा राज कटुवाल,कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।
यसै साताबाट फ्लोरमा जाने फिल्मलाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् । सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन् । फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी रहने गीतहरुमा संगीत राजनराज शिवाकोटीसँगै हरि लम्सालले भर्नेछन् ।
निर्माण टिमले आगामी तिहारलाई फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ ।