Logo
Logo

समाजवादलाई गिज्याउने व्यहार खारेजयोग्य


धनराज वास्तविक

315
Shares

चुनौती र अवसरका बीचमा नेकपा (एकीकृत समाजवादी)ले महान् अभियानको थालनी गरेको छ । पार्टीले नेपाली समाजलाई समाजवादी क्रान्तिको यात्रामा लामबद्ध हुन अपिल गरेको छ ।

रुपान्तरणको अभियानमार्फत सामाजिक न्याय र वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धता पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त लक्ष्य भेट्टाउन के–के गर्नुपर्ला ? यस स्तम्भमा यिनै प्रश्नहरुको जवाफ खोज्ने प्रयास रहनेछ ।

विषय प्रवेशः
पार्टी जीवनलाई गतिशील र प्रभावकारी बनाउन पार्टीको विधि, विधान र नियम अक्षरस पालना हुनुपर्ने पहिलो शर्त हो । नेता कार्यकर्ताका आचरण र अनुशासन हुनुपर्ने दोस्रो शर्त हो ।

यदि हामी, समाजवादी क्रान्तिका असली सिपाही बन्न चाहन्छौँ भने सोहीअनुसारको आचरण, पार्टी संरचना र नीति तय गरिनुपर्छ । विचारको विकास समाज रुपान्तरणको महत्वपूर्ण पक्ष हो ।

यदि, समाजमा रहेका अन्तरविरोधहरूको जगमा उभिएर विचारको विकास भएन भने गतिशील समाजका अन्तरविरोधहरु चिन्न सकिँदैन र ती अन्तरविरोधहरूको हल गर्न सम्भव हुँदैन ।

साथै, रोजगारी सिर्जना गर्न सकिएन भने, उत्पादन, स्वामित्व र वितरण पक्षलाई न्यायोचित ढंगले व्यवस्थित गर्न सकिँदैन । विचार र व्यवहारबीचको दूरी थप बढेर जान्छ । वितरण केन्द्रित मनोविज्ञानले समाजवादी आन्दोलनलाई कमजोर बनाउँछ ।

हाम्रा आचरण र व्यहारहरु समाजवादलाई गिज्याउने खालका देखिन्छन् । यस्ता विचार विरोधी आचरणहरु खारेजयोग्य छन् । एमाले नेतृत्वका आचरणहरु कम्युनिष्ट विचार विरोधी, दक्षिणपन्थी अवसरवादी, प्रतिगमनकारी भए भनेर विद्रोह गरेको पार्टीका नेता कार्यकर्ताहरुका आचरणहरुमाथि प्रश्नचिह्न उठ्नु हुँदैन ।

मुलतः समाजवादी पार्टी अरुभन्दा असल र सफल बन्नका लागि राजनीति, भू–राजनीति र सामरिक गतिविधिलाई ठोसरुपमा विश्लेषण गर्नैपर्छ ।

यस घडीमा एकीकृत समाजवादी पार्टीले देश र जनताको रक्षा कवजको रूपमा आफूलाई विकास र विस्तार गर्नुपर्छ । मुलुकको संस्थापन राजनीतिक पार्टीका रुपमा स्थापित गर्ने अठोट गर्नुपर्छ । अवसरवादीहरुको भर्तिकेन्द्र हुनबाट पार्टीलाई बचाउनु पर्छ । पार्टीमा दलाल पूँजीवाद निषेध गर्नुपर्छ । विद्यमान संविधानमा समृद्धि र समाजवादको जुन प्रसंग छ, त्यसले दलाल पूँजीवादविरुद्ध बलियो अभियान थाल्नुपर्छ ।

समाजवादप्रतिको बुझाइ
विश्व राजनीतिको इतिहासमा सबैभन्दा धेरै ब्याख्या गरिएको शब्द लोकतन्त्र हो । त्यसपछि लोकतन्त्रको उच्चतम प्रयोगका रुपमा लिइने शब्द हो, समाजवाद । समाजवाद, पूँजीवाद र व्यक्तिवादी सत्ताको विरुद्धमा जन्मिएको, अघि सारिएको जनवादी शासन शैली हो ।

अर्को शब्दमा समाजवाद पूँजीवादविरुद्धको राजनीतिक दर्शन हो । समाजवाद स्वतन्त्रताको आयाम हो । समाजवाद शब्दको प्रयोग १६औँ शताब्दीमा भएको हो ।

जुन समयमा समाजवादलाई काल्पनिक अवधारणका रुपमा परिभाषित गरिन्थ्यो । फ्रान्सेली राज्य क्रान्तिले जागा गराएको स्वतन्त्रता, समानता र भ्रातृत्वले समाजवादको दिशा तय गरेको हो । त्यसपछि कार्लमाक्र्सले युरोपेली औद्योगिक क्रान्ति र श्रमिकहरूमाथिको शोषणलाई ठोस विश्लेषण गर्दै बल प्रयोगको माध्यमले सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुने तर्क पेश गरेका थिए ।

१८औँ शताब्दीमा माक्र्स र एंगेल्सले १६औं शताब्दीको समाजवादलाई काल्पनिक संज्ञा दिएर वैज्ञानिक समाजवादको अवधारण अघि सारेका हुन् । माक्र्सले भनेका थिए– ‘आजसम्मका दार्शनिकहरुले समाज के हो ? भनेर ब्याख्या गरे, तर जरुरत त्यसलाई कसरी बदल्ने भन्ने हो ।’

अब प्रश्न उठ्छ, समाजवादी पार्टीले समाजवादको नारा लगाएर मात्रै हुन्छ या हुँदैन ? समाजवादको आधार नै संविधान हो । समाजवादलाई राष्ट्रिय लक्ष्य र समाज रुपान्तरणलाई समाजवाद स्थापनाको प्रमुख मुद्दा बनाउन आवश्यक छ । समाजवादको मोडल तय गरेर सोहीअनुसारका कार्यक्रमहरु तय गर्नु आजको आवश्यकता हो ।

समाजवादी पार्टीले वकालत गर्ने गरेको समाजवादी मोडल भनेको रुसी मोडल हो या जर्मनी ? या नेपाली विषेशताको ? पार्टीले समाजवादी यात्राबारे घनिभूत बहस र छलफल गर्न ढिलो गर्नु हुँदैन । समाजवादका बारेमा सतही बुझाइ हानिकारक हुन्छ । समाजवाद १० प्रतिशत सिद्धान्त हो, भने ९० प्रतिशत आचरण र व्यहार हो ।

हाम्रा आचरण र व्यहारहरु समाजवादलाई गिज्याउने खालका देखिन्छन् । यस्ता विचार विरोधी आचरणहरु खारेजयोग्य छन् । एमाले नेतृत्वका आचरणहरु कम्युनिष्ट विचार विरोधी, दक्षिणपन्थी अवसरवादी, प्रतिगमनकारी भए भनेर विद्रोह गरेको पार्टीका नेता कार्यकर्ताहरुका आचरणहरुमाथि प्रश्नचिह्न उठ्नु हुँदैन ।

रुपान्तरणको अभिभारा समाजवादीको काँधमा
कम्युनिष्ट आन्दोलनको मूलप्रवाह सम्झिने समाजवादी पार्टीको मुख्य अभिभारा आमूल परिवर्तन र रुपान्तरण हो । सबैभन्दा पहिले पार्टीभित्र रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको अवस्था के छ ? त्यो बुझ्न जरुरी छ ।

संगठन चुस्त, दुरुस्त र गतिशील छ कि छैन ? त्यस्तै असीमित सदस्य संख्यामा रहेका कमिटीहरुलाई गोडमेल गर्न सकिन्छ कि सकिँदैन ? परिर्वतनलाई संस्थागत गर्नुपर्ने, लोकतन्त्रको रक्षा र विकास गर्नुपर्ने, संविधान कार्यान्वयन गर्नुपर्ने, विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने दायित्वबोध पार्टी पंक्तिले गर्छ कि गर्दैन ? मूल प्रश्न यिनै हुन् ।

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमान्तरणका निम्ति समाजभित्र रहेका विद्यमान अन्तरविरोधहरुलाई सत्य निरुपणका निम्ति केलाउन जरुरी छ । रुपान्तरणको अभियान सञ्चालन गर्नुपूर्व समाजको विकास क्रमलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेरिनुपर्छ ।

समाजको एउटा पाटोलाई हेरेर मात्रै पुग्दैन, अर्को पाटोलाई पनि हेर्नुपर्छ । अर्को पाटोलाई मात्र हेरेर पुग्दैन, एक अर्को पाटोबीचको सम्बन्ध र फरक के छ ? ऐतिहासिकता के छ ? त्यो पक्षमाथि पनि सत्य निरुपण हुनुपर्छ÷गरिनुपर्छ ।

खासगरी नेपाली समाज आर्थिकरुपमा तहगत र वंश (जात)का आधारमा ठाडो (दुई) चिरामा विभाजित छ । तसर्थः एकीकृत समाजवादी पार्टीले नेपाली समाजको अवस्था र आवश्यकतालाई गहिरो अध्ययन गरी सोहीअनुसारको समाजवादी मोडल तय गर्नुपर्छ ।

समाजवादी पार्टीको अवस्था
पार्टी विकास र विस्तारको अभियानमा छ । आर्थिक, राजनीतिक, सांगठनिक, राजनीतिक संकट र चुनौतीहरुको सामना गर्दै अघि बढिरहेको छ ।

समाजवादको आधार निर्माण गर्ने, रुपान्तरणको अभियानको नेतृत्व गर्ने, राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिको झण्डा उठाउने, सरकारी कर्मचारीलाई पार्टी सदस्यता नदिने, युवामैत्री पार्टी बनाउने, एक व्यक्ति एक पदको नियम लागू गर्ने, चुनावदेखि चुनावसम्म नभएर, जनतादेखि जनतासम्म क्रियाशील पार्टी निर्माण गर्ने विषयहरु मिडियाले नोट गरेका थिए ।

तर आज, समाजवादी पार्टी कहाँ छ ? आजको दिनमा मिडियाहरुले कसरी सम्प्रेषण गरिरहेका छन् ? चिया पसलमा समाजवादी पार्टी र नेता कार्यकर्ताको बारेमा कस्ता टिप्पणीहरु भइरहेका छन् ? यतातिर कसैको ध्यान गएको छ ? छैन ।

एक पद, एक व्यक्तिको अवधारणाको हल भएको छ कि छैन ? चुनाव जित्नकै लागि गठबन्धनको अतिरिक्त गीत गाउनुको कारण के हो ? यस्ता तमाम प्रश्नहरुको जवाफ दिनुपर्ने ठाउँमा समाजवादी पार्टी आइपुगेको देखिन्छ ।

कार्यकर्ताहरु क्रान्तिकारी बन्न नसकेको र नेतृत्वले पार्टीको लक्ष्यअनुरुपका कार्यक्रम सञ्चालन गर्न नसकेको आभास हुन्छ । उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा नेतृत्व सफल हुनसकेको छैन । कार्यकर्ताहरु बहुपदबिना बाँच्न नसक्ने भएका छन् ।

पार्टीको विधान, नियमावली र राजनीतिक प्रतिवेदनहरु समाजवादी छन् । तर, व्यवहार दलाल पूँजीवादी भएपछि कसले विश्वास गर्छ ? यो विचार र व्यवहारबीचको अन्तरविरोध मात्रै होइन, ठूलो बेइमानी र झुट हो ।

हामीले जे भनिरहेका छौं त्यो गर्न डराइरहेका छौं । जे गरिरहेका छौं त्यो भन्न सकिरहेका छैनौं । हामी जे हौं त्यो भन्दैनौं, हामी जे होइनौं त्यही भन्छौं । यो प्रवृत्ति त्याग्नुपर्छ ।

नेपालका कम्युनिष्ट पार्टीहरुभित्र नराम्रोसँग दलाल पूँजीवाद मौलाएको छ । यो भिमकाय सामाजिक अन्तरविरोध हो । उनीहरु सार्वजनिक श्रम र सामाजिक स्वामित्वबीचको क्रसविन्दुको खोजीमा देखिँदैनन् ।

उल्टै आफू र आफ्ना वरिपरिका व्यक्तिहरुको सुरक्षाका निम्ति अतिरिक्त चासो दिइरहेको पाइन्छ । दलाल पूँजीवादी अर्थ राजनीतिक व्यवस्थाको काम आफूलाई फाइदा कसरी गर्न सकिन्छ ? त्यसबारे तानाबाना बुन्ने हो ।

बिडम्बना भन्नुपर्छ आजका दिनमा दलाल प्रवृत्ति आर्थिक पाटोमा मात्रै सीमित रहेन, राजनीतिमा पनि हाबी हुन थाल्यो । त्यसबाट समाजवादी पार्टी अलग हुनुपर्छ ।

अन्ततः समाजवादको नारा र हाम्रो पाराबीचको तादात्म्यता मिल्नुको विकल्पै छैन । अबको समाज विकासको चरण नै समाजवादी व्यवस्था हो । त्यसैले माथि उल्लेख गरिएको अवस्थालाई बदल्न सक्नुपर्छ ।

समाजवादको भाषण गर्ने तर, संगत दलालहरुसँग गर्ने ? अनि कसरी आउँछ समाजवाद ? अनि कसरी स्थापित हुन्छ हाम्रो पहिचान ? कसरी जिउँदो रहन्छ हाम्रो परिचय ?

आज राजनीति तरलता बढिरहेको छ । गणतन्त्र विरोधि शक्तिहरुले टाउको उठाइरहेका छन् । विदेशी शक्ति बढिरहेका छन् । लोकतन्त्रमाथि खतरा टरेको छैन ।

यहीबेला एकीकृत समाजवादी पार्टीको काँधमा समाजलाई नयाँ दिशा दिनुपर्ने जिम्मेवारी आइलागेको छ । परिवर्तन र रुपान्तरणको लागि निःशर्त र निःस्वार्थ ढंगले चुनौतीसँग जुधौं । यसैमा देश र जनताको भलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्