काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा थोरै स्थापित नाममध्ये एक हो, मनिषा पोखरेल । गायनमै दुई दशक बिताइसकेका मनिषा ‘भर्सटायल गायिका’का रुपमा चिनिन्छन् ।
विराटनगरकी मनिषा आफूलाई ‘भाग्यमानी गायिका’ ठान्छन् । २०५८ सालमा सांगीतिक करिअर प्रारम्भ गरेयता उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । पाश्र्वगायनबाट चम्केएका मनिषा भन्छन्– ‘संघर्षका कुरा गर्दा आफूलाई भाग्यमानी ठान्छु । किनकि, मैले खाशै संघर्ष गर्नुपरेन, मिहिनेत चाहिँ गरेकी छु ।’
सोह्र सयभन्दा बढी गीतमा स्वर दिइसकेकी मनिषाले फिल्ममा कोरसदेखि हिन्दी गीतसम्म गाउँदै आएका छन् । उनै गायिका मनिषा पोखरेलसँग एमपी सुब्बाको जम्काभेट :
हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
पहिलेजस्तो व्यस्त छैन । तर, काम टुटेको छैन । कोरोनापछि अलि सुस्ताएकी छु । फिल्म उद्योग नै सुस्ताएको छ । फिल्मका गीत बढी गाउने भएकाले पनि यस्तो भएको हो । अहिले आधुनिक र गजलहरु गाउँदै आएकी छु ।
अहिले स्टेज कार्यक्रमहरु अवस्था कस्तो छ ?
स्टेज कार्यक्रमहरु पनि गरिरहेकै छु । स्टेज कार्यक्रम पनि कोरोना महामारी अगाडि जस्तो भएको छैन । कमै कार्यक्रमहरु भइरहेका छन् । मैले पनि कमै गर्दै आएकी छु ।
गायनमै दुई दशकभन्दा बढी बिताइसक्नुभयो । पहिले र अहिलेका दिनहरुलाई कसरी तुलना गर्नुहुन्छ ?
जुन समयमा गायन सुरु गरेँ, त्यो बेला र अहिलेको अवस्था तुलना गर्नै मिल्दैन । किनकि, ५०–६० को दशकमा सिकेरमात्र गायन सुरु गर्ने चलन थियो । ‘म गीत गाउँछु’ भन्नेबित्तिकै मान्छेहरु प्रश्न गर्थे– संगीत सिकेका छौँ । कहाँ सिक्यौं ?’ यस्तै प्रश्नको सामना गर्नका लागि पनि संगीत सिकिन्थ्यो । त्यो समयमा रियालिटी शोहरु खासै थिएन । खासमा भन्ने हो भने त्यो समयमा जो–कोहीले गायन अँगाल्न हिम्मत गर्दैन थिए ।
सिकेर आउनु आफैँलाई फाइदा हो नि, होइन र ?
हो, संगीत सिक्दा आफूलाई फाइदै पुग्ने हो । तर, सिक्दासिक्दै समय पनि खेर जान्थ्यो । सिकेर गायन संगीत अँगालेहरु अहिले पनि संगीतमै टिकिरहेका छन् । तर, अहिले हातहातमा मोबाइल भएसँगै भाइरल हुने प्रवृत्ति छ । जसले वास्तविक प्रतिभाहरु ओझेलमा परेका छन् ।
ती संघर्षका दिनहरु सम्झँदा कस्तो लाग्छ ?
म आफूलाई लक्की भन्न रुचाउँछु, किनकि सुरुदेखि नै मैले चाहेको कुराहरु पाउँदै आएकी छु । मैले संघर्षभन्दा पनि मिहिनेत गरेकी छु । पहिले घरको आर्थिक अवस्था कमजोर हुँदा हार्मोनियम किन्न गाह्रो थियो । ती दिन अहिले पनि मेरो दिमागमा छ । तर, लागातर काम पाएपछि आर्थिक अवस्थालाई पनि मेन्टेन गर्दै आएँ । त्यही भएरै आफूलाई लक्की ठानेकी हुँ ।
संगीत रोज्नु नै फलिफाप भएछ, होइन त ?
हो, संगीतमा करिअर सुरु गरेपछि अरु क्षेत्रमा हात हाल्नुपरेको छैन । पछाडि फर्केर पनि हेर्नुपरेको छैन । गायनबाट नामसँगै आर्थिक अवस्था पनि सुधार गर्न सकेकी छु ।
तपाईंको सफलताको मुख्य कडी के हो ?
मिहिनेत । कुनै पनि मान्छेले एउटा काम एकोहोरो लागि परेर गर्यो भने सफल हुन्छ । मैले पनि गायनलाई दीघर्कालीन सोचेर अगाडि बढे । मलाई जे अफर आयो, त्यही गाएँ । मैले चलचित्रमा कोरस पनि गाएँ । त्यतिमात्र नभएर रेडियो जिंगल, गजल, भजन इत्यादी सबै गाएँ । यही मिहिनेत र लगावले गर्दा यहाँसम्म पुगेकी हुँ ।
सुरुमा तपाईंलाई चिनाउने गीत कुन हो ?
२०६८ सालतिर मेरो ‘सायद’ एल्बम आएको थियो । उक्त एल्बमको ‘हाम्रो प्रेम यदि छुट्यो भने’ चर्चित बन्यो । यो एल्बमको आधुनिक गीत भयो । फिल्मको चाहिँ रेखा थापाको ‘हिम्मतवाली’को ‘काली तिम्रो नजरले’ अत्याधिक हिट भयो । त्यो बेला उक्त फिल्मी गीत ब्लकबस्टर बन्यो । त्यसपछि नै मलाई पछाडि फर्कनु नपरेको हो ।
अहिलेसम्म कति गीत गाएँ भन्ने यकिन छ ?
म सबै भाषाभाषीका गीत गाउँछु । नेपालीबाहेक थारु, भोजपुरी, मैथिली, हिन्दी भाषाका गीत पनि गाएकी छु । अहिलेसम्म १६ सयभन्दा बढी पुग्यो होला । संख्या थपिँदै गएकाले पनि यकिनका साथ भन्न गाह्रो छ ।
तपाईंलाई ‘भर्सटायल गायिका’ भन्दा कस्तो अनुभूति हुन्छ ?
म आफूलाई कुनै उपमा दिन्नँ । दर्शक, श्रोता र मिडियाले उपमा दिने हो । दर्शकले मलाई पाश्र्वगायनकी भर्सटायल भन्छन् । त्यसलाई स्वीकार्दै खुसी छु ।
आधुनिक र फिल्मी गीत गाउनुको भिन्नता के छ ?
व्यावसायिकरुपमा लिँदा केही भिन्न छ । गीत एउटै हो । फिल्मको गीत गाउँदा प्रचार आफूले गर्नु पर्दैन । गायक÷गायिकाहरु नाम माथि पुग्छ तैपनि दर्शकले चिन्दैनन् । आधुनिक गीत गाउँदा प्रचार आफैंले गर्नुपर्छ । मैले हालसालै गाएको फिल्म ‘जात्रैजात्रा’को ‘माया पिरिम’ बोलको गीत अहिले पनि हिट छ । उक्त गीतबाट दुईवटा अवार्ड समेत पाएकी छु ।
आफूले रोजेको पेसाबाट खुसी र सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । गायनबाटै नाम कमाएकी छु । आफूलाई पुग्दो दाम पनि कमाएकी छु । यो क्षेत्र छाडेर अन्यत्र हात हाल्नु भनेको मेरो लागि संगीतलाई सौता हाल्नुजस्तै हो । त्यसैले गाउन सकिञ्जेल संगीतमै हुनेछु ।