Logo
Logo

निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था छैन : अध्यक्ष नेपाल


2.2k
Shares

बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्च अदालतको फैसलामा आत्तिनु नपर्ने बताएका छन् । निजगढ विमानस्थल निर्माणस्थलको अवलोकन गर्न यहाँ आएका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका नेताहरू बाराको निजगढस्थित विमानस्थल बनाउने स्थानको निरीक्षणका लागि पुगेका हुन् । सोक्रममा अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको केही अंश पढेर सुनाउँदै निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छ । पूर्ण पाठलाई हेर्दा हामी आत्तिनुपर्ने केही अवस्था रहेनछ । फैसलाको निचोड हेर्दा यहाँ विमानस्थल बन्दैन कि अदालतले रोक्यो कि भन्ने खालको आशंका छ, त्यो आशंकाबाट हामी मुक्त भएका छौँ ।’

उनले अदालतको आदेशमा हवाइ उडानलाई व्यवस्थित, भरपर्दो सुरक्षित र अन्तर्राष्ट्रिय सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको ठहर गरेको दावी गरे । अदालतको फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउनपर्ने उनको भनाइ छ ।

‘विमानस्थल बनाउन सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूहबाट अध्ययन गराएर यहाँ कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो’ अध्यक्ष नेपालले भने, ‘वातावरणीय क्षति कम हुनेगरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन भनेर आदेश आएको छ । फैसलाको मूल उद्देश्य के हो भने वातावरण कमभन्दा कम क्षति होस् भन्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्