Logo
Logo

एकीकृत समाजवादीको निष्कर्ष : शीर्ष तहमा छलफल गरेरमात्रै मुख्यमन्त्री हेरफेर


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफल गर्नुपर्ने जनाएको छ ।

शनिबार बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलका शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान चलाएपछि यो प्रशंग आएको हो । जसको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्नेगरी शीर्ष तहले टुंग्याउनुपर्ने बताए ।

‘गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम ग¥यो भने सबैभन्दा परिपक्व हुन्छ’ उनले भने, ‘यसो गर्दा प्रत्येक सांसदहरुले तनाव लिनु पनि पर्दैन ।’

सात प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् ।

एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने पार्टीको अडान छ । उनले भने, ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला ।’

प्रतिक्रिया दिनुहोस्