Logo
Logo

बाबुरामलाई फर्काउने माओवादीको प्रयास सफल होला ?


3.7k
Shares

काठमाडौं । माओवादी परित्याग गरेसँगै शक्तिविहीन अवस्थमा रहेका डा. बाबुराम भट्टराई हालको पार्टी जनता समाजवादी पार्टी (जसपा)मा उत्पन्न असहज परिस्थितिका कारण संकटमा छन् ।

संघीय परिषद अध्यक्ष रहेकf भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीचको अन्तरविरोध उत्कर्षमा पुग्दा बाबुराम पार्टीबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । तर, अब के गर्ने भन्ने निधोमा पुगिसकेका छैनन् ।

जसपाबाट बाहिरिने अन्तिम तयारीमा रहेका बाबुराम नयाँ पार्टी गठन गर्ने या पुरानै पार्टीमा फर्कने ? दुविधानमा छन् । माओवादीको प्रयासले पनि बाबुराम दुविधामा परेका हुन् ।

यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामबीच दुई चरणमा कुराकानी भइसकेको छ । प्रचण्डले बाबुरामलाई पार्टीमै फर्कन दवै भेटमा आग्रह गरेका छन् । तर, बाबुरामले हुन्छ भन्न सकेका छैनन् ।

पूर्व नेतृत्व प्रचण्डलाई ‘माओवादीमै फर्कन्छु’ भन्न नसकेका बाबुरामले नयाँ पार्टी खोल्ने पनि आट गर्न सकेका छैनन् । माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा भोगेको असफलताका कारण अब अर्को पार्टी खोल्ने साहस बाबुराममा छैन ।

पछिल्लो समय कमजोर बन्दै गएको माओवादीले माओवादी आन्दोलनका सबै नेतालाई एक ठाउँमा ल्याउने कोसिस गरिरहेको छ । यसै सिलसिलामा प्रचण्डले बाबुरामलाई घर फर्कन अनुरोध गरेका हुन् ।

बाबुरामसँग नजिक एक नेताका अनुसार बाबुरामले पनि आफ्नै धरातमा फर्कन पाए राजनीतिक शक्ति र सत्ता फर्कने निष्कर्ष निकालेका छन् । ति नेताका अनुसार बाबुराम माओवादीमा फर्कने उचित उपाय खोजिरहेका छन् ।

पछिल्लो भेटमा बाबुरामले माओवादीमा फर्कदाँ मेरो स्थान र अवस्था के हुन्छ ? भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए । बाबुरामको प्रश्नमा प्रचण्डले स्पष्ट नभने पनि ‘अबको नेतृत्व तपाईं नै हो’ भन्ने लाइनबाट जवाफ दिएका थिए । प्रचण्डको उक्त जवाफमा बाबुरामले केही प्रतिकृया नदिएको ति नेताले बताए ।

बाबुराम माओवादीमै हुँदा प्रचण्ड–बाबुरामको तस्बिर

यसैबीच, माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताएका हुन् ।

पत्रकारको प्रश्नमा पौडेलले भने– ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु । उहाँ माओवादीमा फर्कने सम्भावना छ । कुराकानी पनि भइरहेका छन् ।’

त्यसो त जारी बैठकमा पनि प्रचण्डले राजनीतिक प्रतिवेदनमार्फत वामपन्थी एकता आजको आवश्यकता रहेको भन्दै एक ठाउँमा आउन आग्रह समेत गरेका छन् । प्रचण्डले नयाँ ढंगले वामपन्थी एकता गर्नुपर्ने भनेका छन् ।

प्रचण्डसँगको भेटका क्रममा बाबुरामले ‘समाजवादी केन्द्र’ निर्माणको प्रस्ताव गरेका थिए । समाजवादी केन्द्र अहिलेको आवश्यकता रहेको र समाजवादी केन्द्र भनियो भने अन्य शक्ति पनि आउनसक्ने बाबुरामको धारणा थियो ।

समाजवादी केन्द्र निर्माणको सवालमा प्रचण्ड पनि केही सकारात्मक देखिन्छ । बेला–बेला प्रचण्डले पनि समाजवादी केन्द्रको कुरा गर्दै आएका छन् । त्यसैले जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले नयाँ ढंगले वामपन्थी एकताको विषय प्रवेश गराएको हुनसक्ने अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्