काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा एक्कासी गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा परी तीन जना गम्भीर घाइते भएका छन् ।
कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए । संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।
गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए ।
उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।