कोलम्बो । श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय बन्द गरेको छ ।
इन्धनको चरम संकटबीच श्रीलंकाका शिक्षामन्त्रीले सोमबारदेखि एक साताका लागि विध्यालय बन्द गरेको हो । यसअघि १८ जुनमा पनि सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।
लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ ।
श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।
अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन (पीयूसीएसएल) सहमत भएको उनले बताए ।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ ।