Logo
Logo

मिनी राष्ट्रिय सम्मेलनले दिएको सन्देश


6.1k
Shares

असार १३ र १४ गते राजधानीको कमदालीस्थित प्रज्ञा भवनमा सम्पन्न एकीकृत समाजवादी पार्टीको प्रथम केन्द्रीय परिषद बैठक उत्साहका साथ देशभरबाट प्रतिनिधि सहभागी थिए । उक्त बैठकलाई ‘मिनी राष्ट्रिय सम्मेलन’का रुपमासमेत हेरिएको थियो । उक्त बैठकले दिन खोजका सन्देशहरुबारे यो लेख केन्द्रीत हुने छ ।

वैचारिक सन्देश
राजनीतिक दल बाँच्ने पहिलो आधार विचार हो । समाजवादी पार्टीको विचार ‘माक्र्सवाद–लेनिवाद’मा आधारित हो । दीर्घकालीन रणनीति ‘माक्र्सवादी समाजवाद’ हो । उक्त लक्ष्य हाँसिल गर्न परिषद् बैठकले जनवादी क्रान्ति सम्पन्न भइसकेको र समाजवादी शासन व्यवस्था स्थापनाका लागि दृढ संकल्प जाहेर गरेको छ ।

साथै, श्रमिकहरुको अधिनायकत्व, समाजवादी आर्थिक मोडल, क्रान्तिकारी संसदवादको पक्षपोषण गर्ने उद्घोष पनि गरेको छ । आगामी प्रदेश र संघको निर्वाचनका लागि तयार पारिने चुनावी घोषणा पत्रमा नेपाली विशेषता सहितको समाजवादी मोडलका बारेमा पार्टीले उल्लेख गर्ने भनेको छ ।

खासगरी दोस्रो जनआन्दोलनपश्चात नेपालमा समाजवादी आन्दोलनको अभ्यास आरम्भ भएको बैठकको ठहर छ । संविधानमा व्यवस्था भएका मौलिक हकहरु कार्यान्वयन गर्दै जानु समाजवादी यात्राको पहिलो पाइला हो । र, ती व्यवस्थालाई अवस्थामा बदल्नका निम्ति समाजवादी पार्टीले नेतृत्व लिनुपर्छ भन्ने सन्देश विस्तारित बैठकले दिएको छ ।

एमालेले ‘जबज’लाई ‘खोपाको भीमसेन’ बनाएकोले जबजको नयाँ व्याख्या गरिनुपर्नेमाथि कार्यकर्ताको जोड छ । जबजबारे समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केन्द्रीय परिषदको बैठकमा बुझ्नेगरि भन्नु भएको छ– ‘जनवादी क्रान्ति सम्पन्न गर्नका लागि पनि जबज, समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पनि जबज, यो कस्तो गजब ?’ त्यसैले समाजवादी पार्टीका हरेक नेता कार्यकर्ताले जबजका बारेमा स्पष्ट हुन आवश्यक छ ।

जबजको च्याप्टर क्लोज भइसकेको र जबजप्रतिको दायित्व भनेको त्यसका उपलब्धिलाई संस्थागत गर्ने र समाजवादी यात्रामा अघि बढ्ने हो । समाजवादी पार्टीको कार्यदिशा, दीर्घकालीन रणनीति स्पष्ट छ । तर, नेताहरुका भाषणमा कहिलेकाँही जबजप्रति अतिरिक्त व्याख्यानका कारण एमालेका साथीहरुले समाजवादी पार्टीलाई ‘कान्छो एमाले नै हो’ भन्ने अवसर पाएको देखिन्छ । यस्ता अन्तरविरोधहरु सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् ।

सांगठनिक सन्देश
संगठन पार्टी जीवनको दोस्रो महत्वपूर्ण तत्व हो । संगठन बिना पार्टी जीवन गतिशील बन्न सक्दैन । संगठन र प्रचारलाई व्यापक बनाउन नेतृत्वले कार्यकर्तालाई दिर्नेशन दिएको छ । त्यस्तै टोली नेताहरुले समाजवादी पार्टीलाई अवसरवादीहरुको भर्तीकेन्द्र बन्नबाट रोक्नुपर्ने सुझाव दिएका छन् ।

पार्टी कमिटी र भ्रातृ संगठनहरु गोडमेल गर्ने समय आएको सहभागिहरुको भनाई छ । जसको जवाफमा नेतृत्वले पार्टीमा नातावाद, कृपावाद, पूँजीवाद, नश्लवादले संक्रमण गरेको स्वीकार गर्दै त्यसको समुल अन्त्य गरिने प्रतिवद्धता जनाएको छ ।

खासगरी पार्टीका सम्मानित नेता खनालले बैठकमा सहभागी प्रतिनिधिका सुझावहरुको सम्मान र उच्च प्रसंशा गर्दै पार्टी कमिटीलाई माथि सुकेको तल फुकेको बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै, हालै दृष्टिन्युज डटकममा पार्टीका केन्द्रीय सदस्य दामोदर अर्यालले लेनिनवादी संगठनात्मक प्रक्रियाको प्रयोगमाथि प्रश्न गर्दै एउटा लेख लेख्नु भएको छ । उक्त लेखको समर्थन गर्दै थप समाजवादी पार्टीले एमालेको संगठनात्मक शैलीलाई समेत त्याग्नुपर्छ र नयाँ संगठनात्मक ढाँचा तय गर्नुपर्छ भन्ने राय कार्यकर्ताले दिएको छ ।

नेतृत्वले एमालेमा हुँदा जे जसो गरेर आएको थियो, त्यहिँ काइदा यता अपनाउँदा पार्टीको नाम समाजवादी भए पनि सारमा कान्छो एमाले बन्छ । झोला बोकेकै भरमा, नेताको ढोका कुरेकै भरमा र चाकडी गरेकै भरमा पार्टीको जिम्मेवारी दिने हो भने समाजवादी र एमालेबीच कुनै भिन्नता हुँदैन । यस्ता प्रवृत्तिहरु विकसित हुनु समाजवादी पार्टीका निम्ति आत्मघाती गोल हुन सक्छ ।

उच्च मनोवलका साथ कार्यकर्ता मैदान फर्किए
समाजवाद स्थापनाका निम्ति दृढ अठोट बोकेर मैदानमा उत्रिन कार्यकर्ताहरुलाई नेतृत्वले निर्देशन दिएको थियो । त्यस्तै समाजवादी पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टीका रुपमा निर्माण गर्न, संयुक्त क्रान्तिकारी मोर्चा निर्माण गर्न र बहुआयामिक वर्ग संघर्षमा केन्द्रीत हुन निर्देशन छ ।

कार्यकर्ता राजनीतिक, सामाजिक, वैचारिक, आर्थिक र प्राविधिक रुपमा योग्य बन्नुपर्नेमा नेतृत्वले जोड दिएको छ । त्यस्तै बैठकमा नेतृत्वको कार्यशैली र केही विषयलाई लिएर नेतृत्वको आलोचना पनि भएको थियो । घोचपेच, टिका टिप्पणीहरुमाथि बहस भएका छन् ।

कार्यक्रममा ११ वटा समूहले तयार पारेका रिपोर्टहरु प्रस्तुत भएका थिए । पार्टी गठनको १० महिनाको अवधिमा आयोजना गरेको महत्वपर्ण बैठकले कार्यकर्तामा उच्च मनोवल र आशा पैदा गरेको छ ।

अध्यक्ष माधवकुमार नेपाल र खासगरी सम्मानित नेता खनालले कार्यकर्तालाई उच्च मनोवल लिएर निर्वाचन क्षेत्रमा फर्किन निर्देशन दिनुभएको छ । नेता खनालले एक घण्टा २० मिनेट जति वैचारिक तथा सांगठनिक भाषण प्रस्तुत गर्नु भएको थियो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि कस्तो रणनीति बनाउने भन्ने सन्दर्भमा प्रथम परिषद् बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा अध्यक्ष नेपालले स्पष्ट शब्दमा एमाले दक्षिणपन्थी प्रतिगामी कित्तामा उभिएको र संविधानमाथि अझै पनि एमालेबाट खतरा भएकोले आगामी निर्वाचन पनि पाँच दलीय गठबन्धनबाटै लड्ने बताउनुभयो ।

सहभागीहरुको जोड वाम गठबन्धनमा थियो । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचन गर्नुपर्ने कुरा पनि बैठकमा उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्