Logo
Logo

एमालेमा ‘अन्तर्घाती’लाई छानबिनको जिम्मा


9.1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना आलोचकलाई कारबाहीको डण्डा चलाउन कठोर निर्णय लिएका छन् ।

अध्यक्ष ओली आइतबार सम्पन्न सचिवालय बैठकबाट स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन् ।

अब यो कार्यदलले देशभरिबाट प्राप्त उजुरीको आधारमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई हराउन भूमिका खेल्ने एमाले कार्यकर्ताहरुमाथि निर्मम ढंगले कारबाही गर्ने एमालेको तयारी रहेको छ ।

स्थानीय तह निर्वाचनमा एउटा पनि महानगरपालिकामा एमालेले विजय हासिल गर्न नसकेकोलाई ओलीले गम्भीरतापूर्वक लिएका छन् । महानगर र उपमहानगर एमालेले हार्नुको कारण अन्तर्घात भएकाले आगामी संघ र प्रदेशको निर्वाचनमा त्यस्ता अन्तर्घातीहरुलाई टिकटबाट बञ्चित गर्नका लागि कारबाहीको डण्डा चलाउन थालिएको हो ।

एमालेका एक शीर्ष नेताका अनुसार ओलीको हातमा रहेको अन्तर्घातीको लामो सूचीमा एमाले सांसद, मेयरलगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता, कार्यकर्ताहरुको नाम उल्लेख छ ।

बैठकमा देशभरिबाट प्राप्त समीक्षाका आधारमा आगामी निर्वाचनको रणनीति तय गर्नुपर्छ भन्ने अधिकांश सचिवालय सदस्यहरूको रायविपरीत अध्यक्ष ओलीको ठाडो प्रस्तावमा उपाध्यक्ष पौडेलको संयोजकत्वमा देवेन्द्र दाहाल र खगराज अधिकारी सदस्य रहेको छानबिन र कारबाही गर्ने समिति बनेको हो ।

ओलीले बैठकमा छानबिन समिति प्रस्ताव गर्दा कसैले पनि बोल्न पाएनन् । जबकी, स्थानीय तह निर्वाचनका क्रममा भएका अन्तर्घातमध्ये पोखरा महानगरमा खगराज अधिकारी र झापामा देवेन्द्र दाहालको संलग्नताबारे उजुरी छ ।

आरोपित व्यक्तिलाई नै छानबिन र कारबाही गर्ने अधिकार दिइँदा त्यसले गर्ने निर्णयको स्वीकार्यतामा नै समस्या आउँछ । अर्कातिर, उनीहरूलाई ज–जसले ‘अन्तर्घाती’ भनेका छन्, ती मान्छेहरु उल्टै कारबाहीको शिकार हुने स्थितिमा पुग्ने अवस्था छ ।

छानबिन र कारबाही गर्नका निम्ति बनाइएको कार्यदलबारे निर्णय केही व्यक्तिमाथि प्रतिशोध साँध्नका लागि मात्रै गरिएको भन्दै बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ टिप्पणी गर्दै थिए । उनले यस्तो टिप्पणी गर्नुको कारण पोखरा महानगरको निर्वाचन परिणाम हो ।

पोखरामा अहिले पनि खगराज र पृथ्वीसुब्बाबीच एकापसमा दोषारोपण गर्ने क्रम जारी नै छ । पृथ्वीसुब्बाले उठेका प्रश्नहरुको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गरिरहेका छन् । तर, पोखराकै विषयमा प्रश्न उठाइएका खगराज सम्मिलित कार्यदल गठन भएको छ । ‘यसले न्याय दिँदैन, बदला लिन्छ’, बैठकपछि एक सचिवले दृष्टिलाई बताए ।

स्थानीय तह निर्वाचनमा एमालेले क्षति व्यहोर्नुको मुख्य कारण पहिल्याउने कुुरालाई ‘कोत पर्व’ बनाइँदा र प्रमुख विषयमा मौन रहेर सहायक विषयमा केन्द्रित हुँदा एमालेलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने नेताहरूले टिप्पणी गरेका छन् ।

एक जना एमाले नेताले ओलीको प्रसंगमा यस्तो भने– वि.सं १९०३ असोज २ गते तत्कालीन रानी राजेन्द्रलक्ष्मीका विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन खोजियो । भेला भएका भारदारहरु बीच विवाद हुँदा चौतरिया–पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी कूलका भारदारहरुको एकै चिहान भयो । जुठो परेको बहानामा त्यहाँ बस्न्यात खलक गएनन् । त्यसपछि नेपालको राजनीतिमा जंगबहादुर राणाको उदय भयो । उनी प्रधानमन्त्री÷मुख्तियार भए । उनकै वंश परम्परामा आधारित भएर देशमा १०३ वर्ष राणा शासन चल्यो । एमाले नेताहरु अहिले चर्चा गर्दैछन्, ‘गगनसिंहको हत्यारा खोज्न थालियो । अब जंगबहादुरको खाँचो छ । हिम्मत हुनेले आँट गरे हुन्छ ।’

ती नेताका अनुसार, पार्टीमा शुद्धिकरण र सांगठानिक सुदृढिकरणका कार्यक्रम लिएर जाऔँ भनियो, तर पहिला दुश्मन पत्ता लगाऔँ भनिएको छ । फलस्वरुप ‘आफ्नो रिसले आफैँलाई खान्छ’ भनेजस्तो अवस्थामा एमाले पुग्ने खतरा उनीहरुले देखेका छन् । त्यसो त नियतिले डोर्याउँदै केपी ओलीलाई त्यो ठाउँमा पुर्याइसकेको छ । तर, फेरि पनि प्रतिशोधी भूमिका र गतिविधि नरोक्दा त्यसले पुर्याउने क्षति अकल्पनीय हुने नेताहरु बताउँछन् ।

उजुरी गायब
स्थानीय निर्वाचनमा भएका अन्तर्घात तथा असहयोगबारे देशका विभिन्न पार्टी कमिटी, व्यक्ति र संगठनले केन्द्रीय कार्यालयमा पेश गरेका उजुरीहरू एकाएक गायव भएका छन् ।

विष्णु पौडेल कार्यदलले पनि उक्त उजुरी भेट्टाउन सकेको छैन । ‘हामी पार्टी अध्यक्षको निर्देशनअनुसार काम गर्छौं’, कार्यदलका एक सदस्यले भने, ‘देशभरका कुरामा हामी जाँदैनौँ, मुख्य–मुख्य पात्र र प्रवृत्ति पहिल्याएर अहिलेका लागि सांकेतिक रुपमा केही कारबाही हुन सक्छ ।’

कारबाहीका सम्भावित पात्रहरु करिव निश्चित गरिएको एमाले स्रोतले जनाएको छ । एक नेता भन्छन्, ‘सिधै अध्यक्षबाट कारबाही गरिँदा राम्रो नदेखिने कारण कर्मकाण्ड पूरा गरेर कारबाही गर्न खोजिएको छ ।’

यो कारबाहीको लहरमा केही १० बुँदे पक्षधर पनि छन् । विशेषतः अध्यक्ष ओलीप्रति श्रृंखलावद्ध आलोचनामा उत्रिएका नेता घनश्याम भुसाल कारबाहीको शिकार बन्दैछन् । उनीबाहेकका अरु नेतामाथि पनि कारबाहीको डण्डा वर्षाउने तयारी रहेको स्रोत बताउँछ ।

ओलीले सुनेरै टारिदिए नेताका सुझाव
पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बेलामा मान्छेहरु खोजी खोजी कारबाही गरिँदा आगामी निर्वाचनमा झन् बढी क्षति हुने भन्दै अहिले लिइएको बाटो गलत भएको आवाज एमालेभित्रै उठेको छ ।

अध्यक्ष ओलीलाई पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईसहितका नेताले यस्तो सुझाव दिएका हुन् । तर, ओलीले उनीहरुका कुरा सुनेरै टारिदिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेताहरुले विगतमा उपाध्यक्ष वामदेव गौतमलाई चुनाव हराउने व्यक्ति किटान नगरिँदा पार्टी विभाजनसम्मका घटनाक्रम विकास भएको भन्दै अहिले रिसाएर बसेका, पार्टी छोडेर गएकाहरुलाई पनि विश्वासमा लिनुपर्ने बेला कारबाहीतिर लम्किनु राम्रो नहुने भनेका छन् ।

स्मरणीय छ, ०७४ को निर्वाचनमा बर्दियाबाट पराजित तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण खोज्न र दोषी पहिचान गर्न पार्टीले दुई वटा कार्यदल बनाएको थियो । तर, प्रतिवेदन लुकाएर गुपचुप राखियो । वामदेवले ‘मैले किन चुनाव हारेँ ? सत्यतथ्य पत्ता लगाउनुपर्याे’ भनेर पार्टीमा धेरैपटक कुरा उठाउँदा पनि उनको कुराको सुनुवाई भएन ।

शुरुमा बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको थियो । त्यसमा क्षेत्र १ बाट माओवादी केन्द्रका नेता भवनकुमार थारुसहित थिए । पछि लुम्बिनी प्रदेशको इञ्चार्जको हैसियतमा तत्कालीन उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा अर्को छानबिन समिति बन्यो । तर, प्रतिवेदन बाहिर नल्याई भित्रभित्रै थन्क्याइयो ।

प्रतिक्रिया दिनुहोस्