Logo
Logo

भावी आइजिपीको लेखाजोखा


5.1k
Shares

काठमाडौं । आठ महिनापछि आइजिपी हुने रोलक्रममा रहेका नेपाल प्रहरीका डिआइजीहरुमध्ये वरीयतामा अगाडि रहेका डिआइजीहरूले प्रदेश इन्चार्ज छाडेर प्रहरी प्रधान कार्यालय नै रोजेका छन् । शक्तिकेन्द्रसँग निकट बसेर छिटो एआइजी हुनका लागि उनीहरुले प्रदेश जान अस्वीकार गरेका हुन् ।

बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापालगायतको प्रधान कार्यालयमै पोष्टिङ भएको छ । श्यामलाल ज्ञवालीको दरबन्दी साइबर ब्यूरोमा राखेर उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ । त्यस्तै, मिरा चौधरीलाई उपत्यका ट्राफिक तथा सन्दीप भण्डारीलाई भरतपुर तालिम केन्द्रमा काजमा खटाइएको छ । जसकारण सुदीप गिरी, किरण बज्राचार्य, रामदत्त जोशी र पोषराज पोखेललाई प्रदेशमा खटाइएको छ ।

वरीयतामा अगाडि रहेकाहरुको ध्यान प्रदेशमा भन्दा एआइजी बढुवामा छ । अहिले डिआइजी भएकामध्येबाट दुई जना आइजिपी हुने सम्भावना छ । २०५१ सालमा सरकारले एक सय जना इन्सपेक्टरको भर्ना खुलाएकोमा सुरुमा ५२ जना, त्यसपछि आठ जना र बाँकी ४० जना गरी तीन लटमा नियुक्ति गरेको थियो ।

२०५१ को चैतमा भर्ना भएका मध्येबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीको प्रमुख प्रतिस्पर्धामा देखिएका छन् । यसअघि अगाडि रहेका सन्दीप भण्डारी र उमेशराज जोशी पनि दाबेदार भएकोमा अहिलेको बढुवामा उनीहरुलाई अन्यायपूर्ण रुपमा पछाडि धकेलिएको छ ।

पछि भर्ना भएका ८ जनामध्येबाट दीपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ र भिमप्रसाद ढकाल छन् । उनीहरुमध्ये ढकालले उमेरहदका कारण अगाडि नै अवकाश पाउने भएकाले तीन जनाबीच मुख्य प्रतिस्पर्धा हुन्छ । जसमध्ये दीपक थापा बलियो देखिएका छन् ।

थापा सकेसम्म आगामी चैतमै आइजिपी हुने रणनीतिमा छन् । पोष्टिङमा पनि उनको चाहनाअनुसार नै प्रबन्ध निर्देशनालयमा भएको छ । आइजिपीमा उनलाई सुदीप गिरीले टक्कर दिने देखिन्छ । यसअघि गिरी बढुवामा छुटेकोमा गृहमन्त्री बालकृष्ण खाणसँगको निकटताका कारण उनी यसपटक अग्रस्थानमा परेका छन् ।

आगामी मंसिरसम्म प्रहरीमा एआइजीका चार पद रिक्त हुँदैछन् । ती पदमा बढुवा हुने अग्रस्थानमा रहेका डिआइजीहरुको रणनीति छ । मुद्दा नजितेमा विश्वराज पोखरेलको २० साउनमा अवकाश हुनेछ । त्यस्तै भदौमा मुकुन्दराज आचार्य, असोजमा रवीन्द्र धानुक तथा कात्तिकमा अरुण बिसीले अवकाश पाउँदैछन् । यद्यपि, यो बीचमा ३० वर्षे सेवाहद हटाउन पनि लबिइङ भइरहेको छ ।

तर, ३० वर्षे सेवाहद रहेकै अवस्थामा भने सय जनाको टोलीबाट तीन आइजिपी हुने सम्भावना छ । २०५२ कै अन्तिमबाट भर्ना भएकाहरु भने अहिले एसएसपी नै छन् । जसमा विष्णुकुमार केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, सुरेन्द्र मैनाली लगायत छन् । उनीहरुको टोलीबाट पनि आइजिपी हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्