सप्तरी । सप्तरी जिल्ला अदालतले मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।
मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ। सोही मुद्दमा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ । सप्तरीकै नौजनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन् ।