Logo
Logo

मार्सी धानको बिमा गर्दै किसान


252
Shares

खलङ्गा । जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बिमा गर्न थालेका छन् ।

पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् । दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उनले धानखेतको बिमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बिमाबापत २६ हजार ५०० उनले प्राप्त गर्नेछन् ।

सोही वडाका पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बिमा गरेका छन् । २६० प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् ।

मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुनेगर्छ । केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो 

मार्सीधान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरुआत गरिएको छ । जिल्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको चार हजार ९६५ खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बीमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार ५०० हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्