Logo
Logo

सांसदको प्रश्न- किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?


126
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गरे । उनीहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा डिला सङ्ग्रौला पन्थले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै किसानले मल कहिले पाउँछन् भनी प्रश्न गरे । सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकमा प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै उक्त सडक सुधार गर्न माग गरे ।

सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसद्मा पेश हुन्छ भनी प्रश्न गरे ।

सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गरे । सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे÷नगरेका बारे जानकारी गराउन माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्