नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि कमरेड मदन भण्डारीको हत्यासम्मको कालखण्डमा वामदेव गौतम त्यति चर्चामा थिएनन् ।
जननेता मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय हत्याविरोधी आन्दोलनपछि उनी नेपाली राजनीतिको केन्द्र भागमा आइपुगे । त्यसपछि उनी निरन्तर चर्चामा नै छन् ।
उनी आँफै पनि चर्चा मन पराउँछन् । हिन्दीमा एउटा कहावत छ, ‘नाम कमाना, बदनाम कमाना लेकिन गुमनाम मत होना ।’ यो कहावत वामदेवको राजनीतिक जीवनयात्रामा चरितार्थ भएको छ ।
खासगरी उनी दुर्नामसँग डराउँदैनन् । राजनीतिक हिसाबले शक्तिशाली हुँदा वा नहुँदा कसरी चर्चित हुने यो फण्डा उनलाई राम्रोसँग थाहा छ ।
गत संसदीय निर्वाचनमा उनी बर्दियाबाट पराजित भए । अरुको विजय र उनको पराजयमा विजयी हुने कैयांै नेताहरुभन्दा उनको पराजय नै अधिक चर्चित भइरह्यो । प्रतिनिधिसभाको निर्वाचनमा पराजयपश्चात पनि राष्ट्रियसभाको सदस्य नहुन्जेसम्म काठमाडौंबाट उपनिर्वाचन लड्ने चर्चामा चुलिए ।
उनको नाम कैयौं जिल्लाका सांसद र निर्वाचन क्षेत्रसँग जोडियो पनि । त्यतिबेला उनको विरोधमा गाली र समर्थनमा तालीहरु पनि नसुनिएकोे होइन । तथापि, नेपाली मिडियाले उनको साथ छोडेन ।
उनको हाउभाउ र गतिविधि शक्तिशाली नेताझै देखिन्छ । अझै वाम एकताको मियो बनेर संसदीय निर्वाचनपछि प्रधानमन्त्री बन्ने सपनामा रमाइरहेका छन् । राजनीतिक हिसाबले उनी उठ्नै नसक्ने गरी थला परिसकेका छन् । तर, यो सत्यलाई स्वीकार्न तयार छैनन ।
बर्दियामा उनको पराजय स्वभाविक थियो । उनी केन्द्रीय राजनीतिको जोडघटाउमा यति व्यस्त भए कि निर्वाचनको समयमा उनले जिल्लामा ध्यान पु¥याउन नै सकेनन् । यो कुरामा उनलाई बर्दियाका कार्यकर्ताहरुले बेलाबेलामा सचेत नतुल्याएका होइनन् । तर ती कार्यकर्ताहरुलाई उनले दुश्मन ठाने ।
‘कमरेड ! त महान् हुनुहुन्छ, चुनाव जित्नका लागि हजुरको नाम नै काफी छ’ भन्नेहरु नजिक भए । तिनीहरुले उनलाई यति उचाले कि उनले धर्ती नै देख्न छाडे । परिणाम स्वाभाविक थियो, उनी हारे ।
उनलाई उचाल्नेहरु आज उनीसँग छैनन् । उनले आफ्नो पराजयमा अन्तर्घात भएको देखे । पार्टीमा उजुरी हाले, छानबिन आयोग बन्यो ।
बर्दियाको पार्टी र छानबिन आयोगले अन्तर्घात भएको भनेन । वामदेव स्वयंलाई थाहा थियो, बर्दियामा अन्तर्घात भएको थिएन । तथापि, चर्चामा आउने रहरमा उनले कार्यकर्ताहरुलाई आरोप लगाएका थिए ।
आरोपितहरुले केही समयसम्म दुःख त पाए होलान्, तर वामदेवको अभिष्ठ पूरा भयो, किनकि उनी चर्चामा आउनु थियो, फेरि पनि आइरहे ।
वामदेव थुप्रै चोटी सरकारमा गए । उनको नाम एलसी काण्डमा जोडियो । सुनकाण्डमा जोडियो । यो दुर्नाम नै थियो होला । तर उनी निस्फिक्री थिए ।
भैँसेपाटीमा आलिशान महल छ । त्यसको स्रोतको चर्चा अहिले पनि भइरहेको छ । तथापि, उनी ढुक्क छन् । कम्तीमा चर्चा त भइरहेको छ । उनले यो कहावत राम्रैसँग कण्ठ पारेका छन्, ‘नाम कमाना, बदनाम कमाना लेकिन गुमनाम मत होना ।’
नेकपा कालखण्डभरि वामदेवको चर्चा उत्कर्षमा थियो । उनको आँगनमा प्रचण्ड उभिन्थे । तत्कालीन प्रम केपी ओली भात खान उनको भान्सामा नै पस्थे । आज वामदेवले के भन्नुभयो भन्ने कुरा प्रमुख समाचार बन्थ्यो ।
हेर्दाहेर्दै पार्टी फुट्यो । फुटेको पार्टीमा वामदेवको शक्ति कम भयो । केही मान्छेहरुले सोचे अब वामदेवको चर्चा कम हुन्छ । तर त्यस्तो भएन । माधव नेपालले पार्टी खोले माधवको पार्टीमा जान्छु भनेर उनै वामदेवले पटक–पटक भन्दै आए ।
भोलिपल्ट ओलीको बैठकमा भाग लिए । फेरि चर्चामा आए । स्थानीय तहको चुनाव अगाडिसम्म वामदेव कुन पार्टीमा जान्छन् भनेर मिडियाहरुले आँखा तानिरहे । उनी कुनै पार्टीमा लागेनन् ।
कुनै पार्टीमा नजानुमा पनि एक प्रकारको चर्चा थियो । चुनावको मुखैमा एकीकृत समाजवादीका लागि गीत लेखे । उनी फेरि मिडियामा छाए । चुनावलगत्तै एकीकृत समाजवादीमा प्रवेश गर्छन् भनेर चर्चा भयो ।
फेरि सबैलाई चकित पार्दै उनले आफ्नै पार्टी खोले । केन्द्रीय सदस्यहरुको नाम घोषणा गरे । फेरि चर्चामा आए ।
पुनः कम्यनिष्ट पार्टीहरु एक बनाउने भन्दै केपी, माधव र प्रचण्डलाई भेटेको समाचार आयो । यो समाचार सेलाउन पाएको थिएन । फेरि उनैले घोषणा गरेको उनकै पार्टीले उनलाई नै पार्टीबाट निकालेको खबर आयो ।
यसबाट वामदेवलाई केही फरक परेको छैन । कम्तीमा उनी चर्चामा त छन् । फेरि पनि वामदेवलाई राम्रैसँग थाहा छ, ‘नाम कमाना, बदनाम कमाना, लेकिन गुमनाम मत होना ।’
एउटा राजनीतिज्ञले लाज मान्न हुन्छ कि हुन्न ? यो पंक्तिकारलाई थाहा छैन, तर यो गुण वामदेवमा छ । उँहा लाज मान्नुहुन्न ।
समकालीन राजनीतिमा वामदेव दिनप्रतिदिन हास्यपात्र भइरहेको कुरा प्रष्टै छ । राजनीतिक दलका अन्य शीर्षस्थ नेताहरुले उनलाई महत्व दिन छाडिसकेको धेरै भइसक्यो ।
उनको हाउभाउ र गतिविधि शक्तिशाली नेताझै देखिन्छ । अझै वाम एकताको मियो बनेर संसदीय निर्वाचनपछि नेपालको प्रधानमन्त्री बन्ने सपनामा उनी रमाइरहेका छन् ।
अहिले उनको हैसियत उनले घोषणा गरेको पार्टीको केन्द्रीय सदस्यहरुको सूची हेर्दा पनि थाहा हुन्छ । हिन्दीमा अर्को एउटा कहावत छ, ‘रस्सी जल गई, ऐठ बाँकी ।’
वामदेव र ओलीमा एउटा समानता छ । दुवै अति असहिष्णु । एउटा अर्को फरक छ, ओली चतुर छन् तर वामदेव हुस्सु । राजनीतिमा असहिष्णुता पतनको बाटो हो । चतुर अलिपछि पतन हुन्छ, हुस्सु चाँडै ।
वामदेवमा भएको हुस्सुपनले उनको पतनलाई तीव्र बनायो । राजनीतिक हिसाबले उनी उठ्नै नसक्ने गरी थला परिसकेका छन् । तर यो सत्यलाई उनी स्वीकार्न तयार छैनन ।
निरन्तर चर्चा, असहिष्णुता, हुस्सुपन र अति महत्वाकांक्षाको दलदलमा आफू फसेको सत्यलाई बुझ्न जति ढिलाइ गर्छन्, उनी त्यति हास्यको पात्र भइरहन्छन् ।
जे होस्, नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उनको योगदान राम्रै छ । यसका लागि वामदेवलाई सम्मान गर्नु जरुरी पनि छ । राजनीतिमा अनेकौं पात्र र प्रवृत्तिहरु जन्मिन्छन् । त्यस्तै एउटा प्रवृत्तिको बाहक हुन् वामदेव । अब यो प्रवृत्ति नेपालको मूलधारको राजनीति हुन सक्दैन ।
उनको चाहाना नभए पनि परिस्थितिले उनलाई राजनीतिक अवकाशतिर धकेलेको छ । यो सत्यलाई आत्मसात गर्दै बाँकी जीवन लेखन पढ्न र अर्ति उपदेश दिने काममा लगाउनु नै श्रेयकर हुन्छ ।
तर यो सल्लाह उनी मान्नेवाला छैनन् । ‘रस्सी जल गई ऐठ बाँकी’ भनेझै अझै केही समय उनी मिडियामा छाइरहे । हामी पाउने छौँ ।
हामी पनि राम राम त भनौला, काँध हाल्न भने को तयार होला र ! जे होस्, उहाँको सुस्वास्थ र दीर्घजीवनको कामना गरौँ । धन्यवाद ।