गएको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारनजिक सडक छेउमा चेतेन्द्र आचार्य र सीता आचार्य ठेलामा मकै पोल्नलाई आगो बाल्दै थिए ।
चुँडालदेवी मन्दिरतर्फबाट नगर प्रहरीको गाडी हुँइकिएर आयो । गाडी देख्नसाथ उनीहरू भाग्ने प्रयास गरे, तर सकेनन् ।
आचार्य दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै ठेला नियन्त्रणमा लियो ।
आचार्य दम्पती नगर प्रहरीलाई ठेला नलैजान अग्रह गर्छन् । अनुनय-विनय गर्छन् । हात जोड्छन् । हारगुहार गर्छन् । तर, कठोर मन पग्लिँदैन ।
नगर प्रहरीले उनीहरूलाई हुत्याइदिन्छ । मकैसहित ठेला गाडीमा हाल्छ । आधा मकै सडकमा छरपस्ट हुन्छ ।
उक्त दृश्यले जोकोहीको आँखा रसाउँछ । अहिले सो भिडियो समाजिक सञ्जामा भाइरल बनेको छ । चर्कै बहस चलिरहेको छ ।
नगर प्रहरीको उक्त अमानवीय व्यवहार धेरैलाई चित्त बुझेको छैन । यससँगै काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेको)समेत विरोध भइरहेको छ ।
०००
चर्को घामको राप र बर्खे भेलमा मकै पोल्नु उनीहरूको रहर होइन । बाध्यता हो । १४-१५ वर्षदेखि उनीहरूले मकै पोल्दै गुजारा चलाइरहेका छन् । दैनिक खर्च जुटाउँछन् । दुई छोरा पनि पढाउँदै आएका छन् ।
अब, सडक छेउमा मकै पोलेर बाँच्न गाह्रो हुने चेतेन्द्रको निष्कर्ष छ । तर, अर्को व्यवसाय गर्ने उनीहरुसँग उपाय छैन । कसरी बाँच्ने ? भन्ने चित्ताले सताउन थालेको छ ।
व्यापारीको कारणले मात्रै फुटपाथ अस्तव्यस्त हुन्छ भन्नु न्यायोचित हुँदैन । सडक छेउमा मोटरसाइकल पार्किङ । फोहोरको डंगुर । निमार्ण सामग्री । लत्रिएकाे विजुलीका तार । तर, व्यापारीले फुटपाथ अस्तव्यस्थ बनायो भन्दै लखेटिरहन्छ । उनीहरूलाई मात्रै लखेटिरह्यो भने ‘जो होचो उसको मुखमा घोचो’ मात्रै हुन्छ ।
बालेन मेयर बनेपछि चेतेन्द्रलाई आशा थियो– गरिबलाई पनि बाँच्न केही सहज हुन्छ । तर, अब त्यो आशा उनीसँग मर्दै गयो ।
उनी भन्छन्- ‘अलिक भइदिएको भए, सडकमा आउँदै आउथेनौं, नभएरै हो । बालेन सरले जित्नुभएपछि केही आशा थियो । अब, त्यो पनि मर्दै गयो । छोराछोरीलाई के खुवाउनु ? केले पढाउने ? गरिब, दुःखीको कोही नहुँदो रहेछ ! के गरेर बाँच्ने ? चोर्न जाउँ भने पनि प्रहरीले समातिहाल्छ ।’
चेतेन्देको एउटा भनाइ- गरिब, दुःखीको कोही नहुँदो रहेछ । यो भनाइले वैशाख ३० अघि फर्काउँछ अर्थात् स्थानीय निर्वाचनअघि ।
स्थानीय निर्वाचनअघि काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका बालेनको ‘बलिदान’ शीर्षकको र्यापको निकै चर्चामा थियो । उनले उक्त ¥याप चुनावी अभियानमा प्रयोग गर्नुसम्म गरे ।
उनको र्यापमा कोरस थियो- ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन ।’
०००
अहिले काठमाडौं महानगरको प्रमुख बालेन छन् अर्थात् ‘गरिबको चमेली बोल्दिने कोही छैन’को सर्जक ! जुन गीत पुरानो नेपाली फिल्म ‘बलिदान’बाट साभार गरिएको हो ।
सडकमा मकै बेचेर जिविकापार्जन गर्ने एक दम्पतीमाथि नगर प्रहरीको अमानवीय व्यवहारले उनीमाथि पनि प्रश्न उठेको छ । उनको विरोध भइरहको छ ।
निमुखा नागरिकमाथि नगर प्रहरी जइलागेको यो पहिलोपटक होइन । फुटपाथ व्यापारी र नगर प्रहरीबीच सधैंजसो लुकामारी चल्दै आएको छ । फुटपाथे व्यापारीले नगर प्रहरीको ज्यादती दिनहुँ खेपिरहेका छन् ।
वि.स. ०७० सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि सडक व्यापारीलाई हटाउन निर्देशन दिएका थिए । रोजिरोटी खोसिएपछि फुटपाथ व्यापारीले महानगर र एमालेको मुख्यालय घेराउ गर्याे । के-के सहमतिमा त्यो साम्य भयो ।
०७६ मा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बनेपछि फुटपाथमा बेच्न राखिएका व्यापारीको सामान जफत गर्ने लहर चल्यो । त्यसपछि फुटपाथ व्यापारी र नगर प्रहरीबीच दिनहुँ लुकामारी चल्दै आएको छ ।
०००
यस्ता घटनाले स्वाभिकरुपमा प्रश्न उठ्छ- गरिब दुःखीले बाँच्नै नपाउने ? आखिर सडक र फुटपाथ कसका लागि ?
अर्को प्रश्न- फुटपाथ पैदल यात्रुका लागि कि व्यापारीको ? पूरै फुटपाथ छेकेर व्यापार गर्न पाइन्छ ? सहज रुपमा हिँड्न पाउने पैदल यात्रुको अधिकार होइन र ?
फेरि चिन्ता- सडकमा जुत्ता पोलिस गर्ने, फलफूल बेच्ने, मकै बेच्ने, चटपटे बेच्नेको पनि जीवन हो । उनीहरूको पनि बाँच्ने अधिकार छ । त्यो त खोस्न मिलेन नि !
उनीहरूलाई पनि रहर छैन- धुलो र गाली खाँदै मकै पोल्ने । चटपटे–पानीपुरी बेच्ने । कुल्फी बेच्ने । ‘पाँच सयमा दुई जोर, पाँच सयमा दुई जोर’ भन्दै चिच्याउने । जिउभरी बेल्ट र इयरफोनको माला लगाएर हिँड्ने । यो उनीहरूको बाध्यता हो ।
०००
काठमाडौंमा साँझ ढल्कँदै गएपछि सडकमा यात्रुको भिड बढ्छ । त्यसपछि फुटपाथमा व्यापारीको चहलपहल हुन्छ । सवारीको चाप । यात्रुको भिड । बाटाभरि पसल । जिउभरि सामान भिरेर बेच्नेको लस्कर ।
प्रायः साँझको बेला काठमाडौंका सडकमा देखिने यस्तै दृश्य हो, फुटपाथ । मोटरसाइकल पार्किङ उस्तै । सडकमा हिँड्नै गाह्रो । तर, व्यापारीको कारणले मात्रै फुटपाथ अस्तव्यस्त हुन्छ भन्नु न्यायोचित हुँदैन ।
सडक एम्बुसजस्ता । कहाँ कतिखेर के हुने हो पत्तो हुँदैन । बिहान राम्रै भएको सडक बेलुका फर्कँदा भत्किसकेको हुन्छ । भत्काइसकिएको हुन्छ । घाम लाग्यो, कुहिरीमण्डल । पानी पर्याे असार १५ !
प¥याप्त मात्रामा आकाशे पुल छैन । जेब्रा क्रसिङ छैन । सडक छेउमै थुपारिएको फोहोरको डंगुर । निमार्ण सामग्री । शिवरात्रिका केटाकेटी जस्तै विजुलीका तार ! बाटो छेकिरहेको छ ।
तर, व्यापारीले फुटपाथ अस्तव्यस्थ बनायो भन्दै महानर लखेटिरहन्छ । उनीहरू पोकापन्तरा बोकेर भागिरहन्छन् ।
०००
व्यापारीले मात्र फुटपाथ कब्जा गर्याे भनेर भन्न विल्कुल मिल्दैन । उनीहरूले त त्यहाँ बाँच्ने आधार खोजेका हुन् । जीविको पार्जन गरेका हुन् । कुनै काम नपाएपछि आर्थिक उपार्जनको माध्यम बनाएका हुन् । घर चलाएका हुन् । आफ्ना बच्चाको भविष्य खोजेका हुन् ।
त्यसैले फुटपाथका व्यापारीलाई निषेध होइन, व्यवस्थित गर्न जरुरी छ । महानगरले फुटपाथ व्यवस्थित गर्ने दिर्घकालिन योजना बनाउनुपर्छ । उनीहरूलाई उचित विकल्प दिइनुपर्छ । फुटपाथका व्यापारीले पनि विकल्प खोज्नुपर्छ ।
साँघुरो फुटपाथ भएका र अति व्यस्त सडकमा फुटपाथका व्यवसायलाई प्रतिबन्ध लगाएपनि सबैमा लगाउनु हुँदैन । यातायातका साधन र यात्रु कम भएको समयमा उनीहरूलाई व्यवसाय गर्न दिइनुपर्छ । फुटपाथमा व्यापार गर्ने समय तोकिनुपर्छ । व्यवस्थापनका अनेक विकल्पहरू पहिल्याउनुपर्छ ।
फुटपाथमा थुपारिएको फाहोर, निमार्ण सामग्री, लत्रिएको बिजुलिको तार सबै हटाउनुपर्छ । त्यस्तै, सडक र फुटपाथका खाल्डाखुल्डी । अस्तव्यस्त पार्किङको पनि व्यवस्थित गर्नुपर्छ । फुटपाथ व्यापारीलाई मात्रै नगरले प्रहरीले लखेटिरह्यो भने ‘जो होचो उसको मुखमा घोचो’ मात्रै हुन्छ ।
आचार्य दम्पतीमाथि जाइलाग्ने जुन व्यवहार नगर प्रहरीले गरेको छ । त्यो ज्यादती हो । ज्यादती गरेर समस्या समाधान हुँदैन ।
निर्वाचनअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ र्याप गाउने मेयर बालेन यस विषयमा संवेदनशिल हुनैपर्छ । ती फुटपाथमा व्यापार गरेर गरि खान खोज्ने गरिबका सवालप्रति जिम्मेवार बन्नैपर्छ ।