Logo
Logo

सहकारीबाट लाखौं पीडित, कुन-कुन सहकारीले ठगे ?


8.8k
Shares

काठमाडौं । करिब ८ अर्ब ठगीको आरोपमा सिभिल सहकारीका सञ्चालक पूर्व सांसद इच्छाराज तामाङ तथा केशवलाल श्रेष्ठ यतिबेला जेलमा छन् ।

ओरेन्टल सहकारीका सयौं पीडितले १० वर्ष बित्दा पनि निक्षेप पाउन सकेका छैनन् । अन्य केही ठूला सहकारीले पनि समयमा ग्राहकको निक्षेप फिर्ता गर्न सकेका छैनन् । साना सहकारीबाट हुने ठगीको हिसाबकिताब नै छैन ।

सहज रुपमा तल्लो तहका जनतालाई वित्तिय सेवा दिन खोलिएका सहकारी क्षेत्रमा एकपछि अर्काे समस्या बढीरहेको छ । सर्वसाधारणले बैंकमा भन्दा थोरै बढी ब्याजको आशामा सहकारी रोजेकोमा उनीहरु सडकमा आउने अवस्था बनेको छ । सहकारी संस्थाहरुबाट लाखौं जनता ठगीदा पनि सरकार भने मुकदर्शक बन्दा समस्या झन् बढ्दो छ ।

यसरी सहकारीले सहजै ठग्नसक्ने अवस्था सिर्जना हुनुमा अनुगमनको कमजोरी हो । सहकारी विभाग ठूला सहकारी सञ्चालकको कब्जामा छ । यसअघि सबै जिल्लामा सहकारी कार्यालय खोलिएका थिए ।

अहिले स्थानीय तहमा सहकारी शाखा छ । तर, त्यहाँका कर्मचारीले सहकारीमा राम्रोसँग अनुगमन गर्नु भन्दा आर्थिक लाभ लिएर जथाभावी काम गर्न दिंदा समस्या बढेको हो । यसले सिंगो सहकारी क्षेत्रले विश्वास गुमाएको छ । पछिल्लो समय एकपछि अर्काे सहकारीका सञ्चालक पक्राउ परिरहेका छन् ।

सहकारी ठगीको पछिल्लो घटना बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थामा भएको छ । जहाँ करिब १८ करोड रुपैयाँ हिनामिना भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ८ सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष, वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालिन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्ट कुमार महर्जन र लेखा परिक्षकद्वय हिमालय राज जोशी र दिपक राना मगरलाई सिआइबीले पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरु मिलेर संस्थाको १७ करोड ९४ लाख ७६ हजार पाँच सय १८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाणपत्र दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गरी सर्वसाधरणको पैसा समेत हिनामिना गरेको गरेका थिए । वर्षाैसम्म उनीहरुले त्यसरी हिनामिना गर्दा पनि चन्द्रागिरी नगरपालिकाले त्यसमा चासो नदिदा अहिले समस्या आएको हो ।

इन्द्रचोकको आधारभूत सहकारीविरुद्ध पनि यतिबेला छानबिन चलिरहेको छ । संस्थाका अध्यक्ष खड्ग देवकोटा तथा प्रबन्ध निर्देशक सविना देवकोटाविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । न्यूरोडस्थित नौलो परिबेश बचत तथा ऋण सहकारी संस्थामा पनि पाँच करोड भन्दा धेरै हिनामिना भएको थियो ।

संस्थाका कर्मचारी रामचन्द्र खड्गीले नै त्यसरी ठगी गरेका थिए । न्यूरोडकै एयरटेल सहकारीभित्र पनि अनियमितता रहेको छ । त्यहाँका सञ्चालकलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेपनि पीडितहरुले अझै निक्षेप फिर्ता पाएका छैनन् ।

नयाँ बानेश्वरको भरोसा नेपाल सहकारी संस्थाको अध्यक्ष सुरज सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई गत फागुनमा सिआईबीले पक्राउ गरेको थियो । उनीहरुले ६ करोड २५ लाख हिनामिना गरेका थिए । सहकारीका बचतकर्ताकै उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए ।

ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले पनि बचतकर्ताको बिचल्ली बनाएको छ । दुई वर्षअघि सहकारीका सबै सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो । संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले झन्डै ८० करोड रुपैयाँ हिनामिना गरेका थिए । अध्यक्षले आफू निकट सञ्चालक राखेर संस्थामा हिनामिना गरेका थिए ।

धरानमा रहेको बराह समुह अन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारी संस्थामा पनि धेरैको बचत डुबेको छ । एक अर्बभन्दा धेरै बचत फिर्ता नदिएपछि पीडितहरुले आन्न्दोलन गर्दै आएका छन् ।

हाल धरानको मेयरमा निर्वाचन हर्क साम्पाङ नै गत चैतमा सहकारी घेर्न गएका थिए । एकै जनाको एक लाखदेखि २० करोड रुपैयाँसम्म बचत रहेको बताइएको छ । सहकारीका अध्यक्ष मानबहादुर दियालीले हिनामिना गरेका हुन् ।

संचालकहरुले बराह ग्रुप अफ कम्पनी अन्तर्गत सहकारीलाई राखेका छन् । सहकारीको पैसा आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । तर, व्यवसाय राम्रो हुन नसकेपछि सहकारीको पैसा समेत डुबेको छ ।

धरानमा बराह इण्डस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटा रोडमा करोडौंको सपिङ कम्पलेक्स सञ्चालन गरेका छन् । यस्तै काठमाडौंको न्यूरोड, पोखराको चिप्लेढुङ्गा र चितवनको नारायणघाटमा शाखाहरू छन् । विदेशमा पनि लगानी रहेको बताइन्छ ।

विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले पनि वर्षाैदेखि पैसा पाउन सकेका छैनन् । तीन वर्षअघि प्रहरीले सहकारीका अध्यक्ष इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षका विष्णुप्रसाद सुवेदीसहित ९ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

विराटनगर–९ बाटारोडमा सञ्चालनमा रहेको उक्त सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर भएको थियो । मुद्दा चलेपछि पीडितले न्याय पाउन सकेका छैनन् ।

राज्यकै संरक्षणले सहकारी क्षेत्रमा ठगी भएको कुरा सिभिल सहकारी प्रकरणबाटै प्रष्ट भइसकेको छ । इच्छाराज तामाङलाई एमाले सरकारको संरक्षण थिएन भने उनले त्यसरी हिनामिना गर्ने अवसर पाउँदैन थिए ।

एमाले सरकारमा हुँदासम्म उनलाई जोगाएर राखिएको थियो । जसकारण हाल सहकारीका एक हजारभन्दा धेरै सर्वसाधरणको आठ अर्ब रुपैयाँ डुबेको छ । तामाङ जेलमै बसेर पनि छुट्न चलखेल गरिरहेका छन् । जसकारण पीडितहरुले न्याय पाउनेमा आशंका उत्पन्न भएको छ ।

कतिपय सहकारीहरुले उदेश्यअनुसार नै काम गरिरहेका पनि छन् । तर, ठूला सहकारीमा भएको हिनामिना र ठगीले सहकारी क्षेत्रले विश्वास गुमाएको छ । सहकारीसम्बन्धी कडा कानून लागू नगरेसम्म सहकारी क्षेत्रमा सुधार कठिन हुने देखिएको छ ।

दुई महिनामा आठ सहकारी कालोसूचीमा
सहकारीहरू कलोसूचीमा पर्ने क्रम पनि बढेको छ । कर्जा सूचना केन्द्रले एकपछि अर्काे सहकारीलाई कालोसूचीमा राखेको छ । राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएर नतिर्ने नौ वटा सहकारी संस्था पछिल्लो दुई महिनामा कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रले असार ८ गते धादिङ स्थित तिरिमिरी बचत तथा ऋण सहकारी संस्थालाई कलोसूचीमा राखेको छ । हाल यो संस्था बन्द भइसकेको छ । त्यस संस्था संग सम्बन्धीत व्यक्तीहरुमा अञ्जु श्रेष्ठ, इन्दिरा बस्नेत, लोकनाथ दल्लकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।

असार ९ गते स्मृति बचत तथा ऋण सहकारी संस्थालाई पनि कलोसूचीमा राखेको छ । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरुमा विष्णु शर्मा र देबेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै असार १० गते सरसपाट बचत तथा ऋण सहकारी र नवराजधानी सहकारी संस्था पनि कालो सूचिमा परेको छ । सरसपाट सँग सम्बन्धीत व्यक्तीहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पद्म महर्जन, संगीता कार्की, शेरबहादुर मगर र सीताराम कार्की रहेका छन् भने नवराजधानी सँग सम्बन्धीत व्यक्तीहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।

केन्द्रले बैशाख २८मा माँ अम्बे बचत तथा ऋण सहकारी संस्था लि.लाई कालोसूचीमा राखेको थियो । यो संस्था सम्बद्ध व्यक्तिहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् ।

जेठ ९ गते निर्णय अनुसार सहयात्री कृषि सहकारी संस्था कालोसूचीमा परेको थियो । यस संस्थासँग सम्बद्ध व्यक्तीमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर यस्माली थापा रहेका छन् ।

जेठ १७ मा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले कालोसूचीमा राखेको थियो । भीष्मप्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी संस्थाका सञ्चालक हुन् ।

केन्द्रले जेठ २० मा सिरेटो बचत तथा ऋण सहकारी संस्था लि. र चेतना बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको छ ।

चेतना सहकारी संस्थाका सञ्चालकमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् भने सिरेटोसँग सम्बद्ध व्यक्तीहरुमा श्रीजना रिजाल, सुशीला लुइँटेललगायत रहेका छन् । अरु धेरै सहकारी कालोसूचीमा पर्ने क्रममा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्