Logo
Logo

जननेता पुष्पलालका सपना


- दृष्टि न्युज/संवाददाता

0
Shares

आज साउन ७ अर्थात्, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता पुष्पलालको भौतिक शरीर हाम्रोबीचमा नरहेको ४१ वर्ष पूरा भएको छ । २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ अस्पतालमा उहाँको निधन भएको थियो । भौतिक रूपमा जम्माजम्मी ५४ वर्ष २२ दिन बाँचे पनि पुष्पलाल नेपाली मनमा युगोँयुग बाँचिरहनुहुनेछ । यही साता अर्का जननेता विश्वेश्वरप्रसाद कोइरालाको पनि स्मृति दिवस परेको छ । नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

यतिबेला पुष्पलाल हाम्रोबीचमा हुनुहुन्न । तर, उहाँको अगुवाईमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको छ, दुईतिहाइ बहुमतसहित सरकार चलाइरहेको छ । वर्षौंअघि उहाँले देखेको गणतन्त्रको सपना साकार भइसकेको छ । राजनीतिक दलहरूबीचको सहकार्यकै बलमा राजतन्त्रको अन्त्य गर्न सकिन्छ भन्ने उहाँको निष्कर्ष थियो । नभन्दै उहाँले नै देखाएको बाटो अवलम्बन गर्दै राजतन्त्र अन्त्य भयो । मुलुकले संघीयतासहितको गणतन्त्रिक यात्रा तय ग¥यो । नेपाली कम्युनिस्ट आन्दोलनसँगै नेपालको लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा उहाँले पु¥याउनुभएको योगदान बहुआयामिक छ, स्मरणीय छ ।

उहाँले नै विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्र पहिलोपटक नेपालीमा उल्था गर्नुभएको थियो । र, माक्र्स र एङ्गेल्सले गर्नुभएको साम्यवादको परिकल्पना र साम्यवादमा पुग्ने रणनीति र कार्यनीतिबारे नेपाली जनतालाई जानकारी गराउनुभएको थियो । त्यो नै नेपालमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने अत्यन्त महत्वपूर्ण सैद्धान्तिक आधार बन्यो । यस्तै, उहाँले माक्र्सवाद–लेलिनवादका सिद्धान्तलाई नेपाली जनता समक्ष पु¥याउन माक्र्सवादी अध्ययन मण्डल वा प्रगतिशील अध्ययन मण्डलजस्ता संस्थाहरूको निर्माण गर्नुभयो । जुन संस्थाहरूमार्फत् नेपाली बुद्धिजीवीहरूले माक्र्सवाद–लेनिनवादलाई अध्ययन गर्ने, नेपाली श्रमजीवी जनताबीचमा पु¥याउने, श्रमजीवी वर्गलाई जगाउने र वर्गीय संघर्ष विकास गर्न सघाउने काम गरे । अर्को महत्वपूर्ण कामका रूपमा उहाँले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै जाने शिलशिलामा जब हामी जनताको जनवादी क्रान्ति सम्पन्न गर्छौं त्यसपछि नेपाली क्रान्ति समाजवाद र साम्यवादतिर संक्रमण गर्छ भन्ने मार्गदर्शन अघि सार्नुभयो । नेपाली क्रान्ति भनेको न्यूनतम् रूपमा जनवादी क्रान्ति हो भने अधिकतमरूपमा समाजवादी क्रान्ति हो । क्रान्तिका यी दुवै चरणहरू पार गरेर मात्रै नेपाली क्रान्ति पूर्ण हुन्छ । त्यसपछि मात्र नेपाली समाज क्रमशः समाजवाद र साम्यवादतर्फ अगाडि बढ्छ भन्ने मार्गदर्शन पनि उहाँले नै दिनुभएको हो ।

यसरी पुष्पलालका बहुआयामिक योगदानहरूकै कारण मुलुक समाजवादउन्मुख संविधान बनाउन सफल भयो । यतिबेला संविधान कार्यान्वयन अबको सबैको लक्ष्य बनेको छ । तर, यो लक्ष्य पूरा गर्न चाहिने सुदृढ पार्टीको खाँचो हुने हो कि भन्ने आशंका बढ्दो छ । करिब साढे १४ महिनाअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई वर्तमान नेतृत्वले प्राणविहीन बनाउँदै लगेका छन् । दसौँ लाख पार्टी सदस्य भएको पार्टी निजीवजस्तो बनाइएको छ । पार्टीका वर्तमान नेतृत्व हाम्रा महान् अग्रजहरूले देखाएको बाटोमा हिँड्न नसक्दा ठूलो अवसर गुम्दैछ । तीनवटै तहमा प्रचण्ड बहुमत रहेको सरकार नेकपाकै नेतृत्वमा रहे पनि सरकारहरूले जनपक्षीय काम गर्न सकेका छैनन् । ठूलठूला संघर्षको अगुवाइ गरेर आएका नेताहरूभित्रै सामन्तवादका अवशेष देखा पर्दैछन् । जीवनशैली भड्किलो बन्दैछ । दलाल पुँजीपतिहरूसँगको उठबस बढ्दो छ । पार्टी एकमनावादको शिकार बनेको छ । कार्यकर्तामा रहेको छटपटाहट कसले दूर गर्ला ? यो प्रश्न गम्भीर बनेर आएको छ । हामीले सम्झिने पुष्पलाल साँच्चै महान् हुनुहुन्थ्यो । जनताको बीचमै, संघर्षको भट्टीमै आफूलाई सधैँ राखिरहनुभयो । अभाव, र गरिबीको मारले ग्रस्त हुँदा, कयौँ छाक भोकभोकै पर्दा पनि कहिल्यै न सामन्तवादसँग सम्झौता गर्नुभयो न दलालपुँजीपतिहरूसँग हात पसार्नुभयो । जसरी उद्देश्य सफा थियो, त्यस्तै सफा, निष्कलंक जीवन बिताएर जानुभयो । हाम्रा नेताहरू किन पुष्पलालको त्यो जीवन पछ्याउँदैनन् ? जसले पुष्पलालको सागदी पच्याउँदैनन्, ती पुष्पलालका अनुयायी हुन सक्दैन । यो यस्तो प्रश्न पनि हो, जसको उत्तरमा मात्र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य लुकेको छ ।

प्रतिक्रिया दिनुहोस्