Logo
Logo

भाटा र लौरोको एउटै कथा


साँइला भाइ

8.8k
Shares

हर्कपुर, धरान । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ ।’ नेपाली भाकाको यो चल्ती उखान हो । ग्यासको उदय भएपछि यो उखान पनि परिमार्जित हुँदै गयो । केहिले यो उखानलाई परिमार्जित गर्दै लोग्ने–स्वास्नीको झगडासँग सम्बन्धित बनाए । जस्तोः ‘नाइन चाकुले हानेको मान्छे, बेल्ना देख्दै तर्सिन्छ ।’

जतिखेर माओवादीले भाटा कार्जेनीति अपनाएका थिए, तीनले यो उखानलाई माओवादीसम्वद्ध बनाएर परिमार्जन गरे । जस्तोः ‘भाटाले हानेको मान्छे माओवादी देख्दै तर्सिन्छ ।’ माओवादी शान्ति प्रक्रियामा आएपछि उखान परिमार्जित भयो । जस्तोः ‘भाटाले हानेको मान्छे वाइसीएल देख्दै तर्सिन्छ ।’

माओवादी र वाइसीएलको भाटे कार्जेनीति बन्द भइसकेको निकै समय बितिसकेको छ । यतिखेर यो उखानलाई लौरोको सन्दर्भमा परिमार्जन गर्नु आवश्यक छ । उखान यस्तो पनि हुनसक्छः ‘लौरोले हानेको पार्टी, बालेन–हर्क देख्दै थर्किन्छ ।’

जतिखेर नेपालको राष्ट्रिय राजनीतिमा भाटा ‘भाइरल’ थियो यतिखेर लौरो ‘भाइरल’ भएको छ । यहाँ भाटा र लौरोकै महिमामण्डित गरिने छ ।

भाटाको महिमाः
बाँस फुटाएर खिपिएको चिर्पट, भाटा हो । घर बनाउने, पानी धारो ल्याउने, खेतबारी बारबेर गर्ने, कृषि सामग्री बनाउने लगायत अनेक काममा बाँसको उपयोग हुँदै आएको छ । बाँसको घाँसबाट कागज उत्पादन गर्न सकिन्छ । बाँसका मुना (तामा) तरकारी हो । समुद्रबाट उठ्ने ज्वारको विपरीत आउने पनि भाटा हो । तर यहाँ त्यो भाटाको चर्चा गरिन्न ।

जनयुद्धको समयमा माओवादीले त्यही बाँसको भाटा उपयोग गरे । गाउँघरमा विकृति विसंगती भित्र्याउने मान्छे जातका ‘भाले मुङ्ग्रो’हरुलाई तह लगाउने भाटे कार्वाही भित्र्याएका थिए । कालान्तरमा नेपाली राजनीतिमा ‘भाटे कार्वाही’ प्रख्यात भयो ।

गाउँघरमा शान्ति व्यवस्था कायम गर्न एक हद सफल भयो । तीनै भाटा लगाउनेहरु यतिखेर लौरो खानयोग्य भएका छन् । यसर्थ यो उखान पनि परिमार्जन गर्न आवश्यक भएको हो । परिमार्जन गर्दा उखान यस्तो हुनेछ– ‘भाटा हान्ने मान्छेः लौरो देख्दा तर्सिन्छ ।’

लौरोको महिमाः
लौरोको असंख्य पुरान र कथ्य हाल्न सकिन्छ । लौरोको महिमा अपरम्पार छ । लौरोको सनाखत जतिनै गरेपनि काफी हुन्न । सायद हजार जिब्रो भएका शेषनागले पनि लौरोको कैरन गर्न सक्दैनन् ।

बेत, बाँसको, कठबाँसको, घंगरुको वा अरु कुनै बुट्यानको लौरोको काम त्यहि हो । जादूई लौरोको पनि कुरा छ । तर, कसैसँग जादूको छडी हुन्न भन्ने वाक्य स्थापित छ । यसपटक त्यही साधनको चिनो प्रतीक स्वरुप जनताले जनलौरो, जनदण्डको रुपमा प्रयोग गरे । हर्क–बालेन त लौरोको प्रतीक मात्र न हुन ।

लौह पुरुषको लौरोः

लौरोको कैरन गर्दै जाँदा लौह पुरुष गणेशमान सिंहको लौरोको प्रसंग आउँछ । उमेरले डाँडा काट्दै जाँदा गणेशमान लौरो लिएरै हिँडथे । अमेरिकी राष्ट्रपति जर्ज बुशलाइ भेट्न जाँदा लौरोसँगै अमेरिका पुगे । सिंहको त्यो निर्जिव लौरो जिवित कार्यकर्ताको चिनारी पनि थियो ।

पञ्चायतकालमै काठमाडौं नगर पञ्चायतमा उनले लौरो उठाए पनि जिताउँछौं भनेर उद्घघोष गरे । नभन्दै गणेशमानको ‘लौरो’ हरिबोल भट्टराईले प्रधानपञ्चमा जिते । ठूलाठूला महापञ्चका सपना तुहिए । सिंहदरबारमात्र हैन नारानहिटी पनि थर्कियो ।

सिंहको लौरो त्यहीँदेखि प्रख्यात भयो । तर, आज तिनकै परिवारका सदस्यलाई लौरोले हावा खुवायो । संजोग लौरोकै कारण सिर्जना सिंहको आशामा तुषारापत भयो । लौरो ‘जनलौरो’को कथा सार हुन पुग्यो ।

लौरोको प्रयोगः

लौरो चुनाउ चिनोमा प्रयोग भएकाले मात्र प्रख्यात भएको हैन । लौरो आफैमा विलक्षण गुण भएको साधन हो । लौरोमा गीत साहित्य रचिएका छन् । लोक गायक गंगा बरदानको ‘कहाँमा काट्यौ बेतको लौरी, लङ्गुरैको वनैमा’ बोलको गीत प्रख्यात छ । अर्को ‘हिर्काउँला लौरीले ट्वाक्क ट्वाक्क’ बोलको गीत छ ।

मधेसमा ‘जिसका लाठी उसका भैंस’ भन्ने उखानै छ । पहाडी वस्तीमा ‘जो होचो उसैको मुखमा घोचो’ भन्ने चल्तीको भनाइ छ । तर यो भनाइलाई आजको राजनीतिक घटनाले परिमार्जन गर्नुपर्ने बनाएको छ । यतिखेर अग्ला र हात्ती जत्रा पार्टीका मुखमा घोचो पर्याे ।

बुढापाका, अपाङ्ग र अशक्तका लागि लौरो सहारा मात्र हैन । शान्ति सुव्यवस्थाका लागि पनि लौरोको जरुरत पर्छ । संसारभरका प्रहरीको शान्ति सुव्यवस्था कायम गर्न लौरो नै प्रमुख र प्राथमिक साधन हो ।

शिक्षादीक्षामा पनि लौरोको प्राग ऐतिहासिक महत्व छ । शिक्षकको लौरो खाएर कर्णधार बनेका धेरै छन् । पुलिसको लौरो खाएर नेता हुने योग्यता पाएका त्यत्तिकै छन् ।

गोठालोको लौरो पशुपालन कृषिकर्मको प्रमुख साधन हो । हलीको लौरो जोताइमा प्रयोग नगरे गोरुबाट काम लिन सकिन्न । अन्न चुटेर भण्डारण गर्ने उत्पादनदेखि भित्राउनसम्म लौरो उपयोगी हुन्छ ।

यात्रामा लौरोको महत्व त कहीरहनु पर्दैन । एक स्थानबाट अर्को स्थानमा जाँदा घोडचडी यात्री होस् वा पैदल हिँड्ने यात्रीको साथी लौरो नै हो ।

लौरोः जनदण्डको प्रतीक

जनताले लौरो लगाएको यो नौलो कुरा भने होइन । उहिले पञ्चायतकालमा नानीमैया दाहाल (काठमाण्डौ), पुहातु चौधरी (झापा), थर्के ढकाल (धरान) आदि पात्र उभ्याएर पञ्चायतलाई लौरो लगाएको घटना ताजै छ ।

पञ्चायत लौरो लागेर बौरिन नसक्ने अवस्थामा पुगेको थियो । यस्ता लौरो खाएको केही बर्खमै पञ्चायतको इहलिला समाप्त भयो । धरान नगर त लौरो लगाउने मामिलामा धेरै अगाडि नै हो । त्यसैको निरन्तरता ‘थर्के लौरो’, धरानको ‘हर्के लौरो’ हो । बालेन लौरो नानीमैया लौरोको निरन्तरता हुनसक्छ ।

खोलो र लौरोः
उहिले उहिले धेरै नै पहिले भारी, बेसाहा बोक्दा डोको, थुन्से, ढाकरमा तोक्मा नामको चोके परेको बलियो लौरोको प्रयोग हुन्थ्यो ।

त्यतिबेला ढोडको तक्मा वा लौरो काम लाग्दैन भन्ने चलन थियो । यसरी नै सन्ठीको लौरो पनि काम लाग्दैन । ‘बाँदरको पुच्छर लौरो न हतियार’ भन्ने त उखान नै छ । यस्तो लौरोको उपयोगिता हुन्न । सिमली, घंगरु, कठबाँस, बाँस, बेत आदिको बलियो लौरो मात्र काम लाग्छ ।

‘खोलो तर्यो, लौरो बिर्सियो’ भन्ने उखान पनि छ । खोलो तरेर लौरो बिर्सिनेहरुको बिल्लीबाठ हुन्छ । अर्काे पटक खोलो तर्ने साधन लौरो हुने छैन । बालेन र हर्कले लौरो बिर्सिए भने त्यस्तै हुन्छ । जसरी माओवादीले भाटा विर्सिदा अहिले त्यस्तै भएको छ ।

लौरो र गोर्खेलौरीः
लौरो हातले समाई टेकेर हिँडिने बुट्यानको हाँगो हो । लङगुरो र बेत, बाँस आदिको घोचो हो । यसलाई लहुरो, लट्ठी जे भनेपनि हुन्छ ।

लौरी चैं सानो लहुरो वा लहुरी हो । मधेसतिर लौरोको खेल शत्रु नास गर्ने अचुक उपाय हो । खड्गी समुदायले लौरोलाई साहित्य संस्कृतिको प्रतीक बनाएर लट्ठी नाँचमार्फत चाडबाडलाई रंगीन बनाउँदै आएका छन् । मधेसको चल्तिको उखान ‘जिसका लाठी उसका भैंस’ हो ।

गोर्खेलौरी आजका पुस्तालाई त्यति जानकारी छैन । काँध र घुँडामुनी गरालो हालेर डोरीले बाँधी अपराधिलाई दिइने सजाय गोर्खेलौरी हो । यो पुस्ताले हात्ती पार्टीलाई लाठो लगाएका मात्र हुन । आजका पुस्ताले गोर्खेलौरीको विषयमा जानकारी पाए भने त्यसो पनि गर्न बाँकी राख्ने रैनछन् भन्ने यो सन्देश हो ।

गोर्खेलौरी नै लगाए भने त हात्ती पार्टीहरुलाई इन्तु न चिन्तु बनाउने छन् । लौरो खाँदा भाग्ने, सच्चिने ठाउँसम्म हुन्छ । लौरोले सबक सिकाएको मात्र हो । गोर्खेलौरी नै लगाए भने के होला ?

[email protected]

प्रतिक्रिया दिनुहोस्