Logo
Logo

दूरसञ्चार प्राधिकरणमा गिरोह सक्रिय


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षका लागि २ जनाले आवेदन दिएकोमा ३ जना सर्टलिष्टमा परेका छन् । छानिएका तीन जनामा प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, नन्दविक्रम अधिकारी र दीपक जोशी छन् । यी तीनमध्ये अधिकारी र जोशी दूरसंचार क्षेत्रसँग कुनै साइनो नै नभएका छन् । सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित प्राधिकरणको अध्यक्ष छनोट कमिटीले तीन जनाको नाम सिफारिस गरेको हो । आवेदन दिने १२ मध्ये दूरसंचार क्षेत्रका हस्तीहरु थिए ।

जसमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, पूर्व नायब प्रबन्ध निर्देशक मधुसुदन कर्माचार्य, टेलिकमकै उच्च तहबाट अवकाश पाएका देवनारायण यादव, एनसेलमा काम गरिसकेका रोहित रौनियारले आवेदन दिएका थिए । तर दूरसंचार क्षेत्रको जानकारी भएका यी सबै आवेदकलाई सर्टलिष्टबाटै आउट गरिएको छ । र, प्राध्यापक र अमेरिकामा पेट्रोल पम्प संचालन गरी बसेकाहरुलाई सर्टलिष्टमा पारिएको छ । अधिकारी प्राध्यापन गर्छन् भने अमेरिकामा बसेका दीपक जोशी पूर्व मन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।

खनाल ल्याउन अरु फालिए

अन्तर्राष्ट्रिय कल चोरी (भीओइआइपी)मा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको डिजाइनमा पुरुषोत्तम खनाललाई नै अध्यक्ष बनाउनका लागि दूरसंचार क्षेत्रसँग साइनो नभएका जोशी र अधिकारीलाई सर्टलिष्टमा पारिएको स्रोत बताउँछ । छनोट समितिका संयोजक सचिव गुरुङले खनाललाई प्राधिकरणको अध्यक्ष बनाउनका लागि जोशी र अधिकारीको नाम सिफारिस गरेको आरोप छ । टेण्डरमा धाँधली गर्ने खनाललाई संचार मन्त्रालयले सिफारिस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्त गर्नुअघि गम्भीरतापूर्वक सोच्ने अपेक्षा दूरसंचार क्षेत्रले गरेको छ ।

प्राधिकरणको मोबाइल डिभाइस अपरेसन म्यानेजमेन्ट सिडिएमएस) को ठेक्का नियम विपरीत पाएका नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरको न्यूमेरा जेभी (ज्वाइन्ट भेन्चर) का मनिन्द्र मल्लले नै खनाललाई अध्यक्ष बनाउन चलखेल गर्दैआएका थिए । न्यू मेराभन्दा कम दरको बोलपत्र मोबिलियन ट्रेड इन्टरनेसनल नेपाल जेभी इन्फ्रा डाटा एनभी बेल्जियमले पेश गरेको थियो । तर भीओआइपीमा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको न्यू मेरालाई नै ठेक्का दिइएको छ । प्राधिकरणका अध्यक्ष खनालले ५ करोड बढी दरमा प्रस्ताव पेश गर्ने न्यूमेरालाई आर्थिक प्रस्ताव खोलिसकेपछि घटाउने मौका दिएका थिए । मोविलियनले ७३ करोडमा बोलपत्र पेश गरेको थियो भने न्यूमेराले ७८ करोड रुपैयाँमा सिडिएमएसको लागि टेण्डर प्रस्ताव हालेका थिए । तर प्राधिकरणका अध्यक्ष खनालले आर्थिक प्रस्ताव खोलिसकेपछि न्यूमेरालाई मूल्य घटाउने मौका दिएका थिए । खनाललाई अध्यक्ष बनाउन लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरेकाले न्यू मेराका मनिन्द्र मल्ललाई ठेक्का दिइएको छ । आर्थिक प्रस्ताव खोलिसकेपछि निश्चित कम्पनीलाई घटाएर प्रस्ताव पेश गर्न मौका दिनु सार्वजनिक खरिद ऐन नियम बिपरीत छ । सिडिएमएसको ठेक्का पाएको न्यू मेरा मलेसियामा कालोसूचीमा परेको कम्पनी हो । एकातिर कालोसूचीमा परेको र अर्कोतिर बढी दरमा टेण्डर हाल्ने कम्पनीलाई ठेक्का दिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । नेपालको कम्पनीका संचालक मल्ल कल बाइपास(भीओआइपी)मा प्रहरीको कारबाहीमा परेका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्