Logo
Logo

संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन देउवालाई पार्टीबाटै दबाब


630
Shares

काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्रबाटै दबाब आएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक अविलम्ब फिर्ता लिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई आग्रह गरेका छन् ।

कांग्रेसमा महामन्त्री शर्माले केपी ओलीका पालामा पनि त्यस्तै विधेयक आएकोमा विरोध गरिएको स्मरण गर्दै भनेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा हामी शतप्रतिशत प्रष्ट छौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ ।’

संवैधानिक परिषदसम्बन्धी विधेयक कसको सल्लाहमा लगिएको हो भन्ने प्रश्न गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसको सल्लाहमा यस्तो विधेयक लगिन्छ ? प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरूरी छ ।’

यस्तै, अर्का महामन्त्री गगन थापाले पनि संवैधानिक परिषदसम्बन्धी राष्ट्रियसभामा दर्ता गरिएको विधेयक फिर्ता गर्नुपर्ने बताएका छन् ।

‘संवैधानिक परिषदसम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ । हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत थियो भनेका थियौं । हिजो गलत भनेका विषयलाई अहिले सही भनेर अघि बढाउन सकिन्न। त्यो विधेयक फिर्ता हुन्छ’ उनले भनेका छन् ।

संवैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ । हाल उपभामुख पद रिक्त छ । सरकारले ल्याएको विधेयकअनुसार अब तीन जना भएमात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ । यो विधेयकलाई कांग्रेसकै नेताहरूले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्