Logo
Logo

महावीर पुनलाई गण्डकी रत्न


567
Shares

पोखरा । गण्डकी सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

सरकार ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गरेको हो । प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानका क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।

शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर चितवनमा भेट भएको स्मरण गर्दै गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय आविस्कार केन्द्रको सहकार्यमा अनुसन्धानका लागि सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए ।

कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे । आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिका लागि योगदान गरेकाबाट नाम छनोट गरिएको बताए । विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुक समृद्ध भएको उदाहरण पेस गरे ।

उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’

अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे

प्रतिक्रिया दिनुहोस्