Logo
Logo

गुप्तचरमा विदेशी चलखेल


1.6k
Shares

काठमाडौं । देशमा विदेशी चलखेल बढीरहेका बेला देशको एकमात्र गुप्तचर निकाय भने अस्तव्यस्त बन्न पुगेको छ । सरकारले नै विभागमा राजनीति घुसाउदा राष्ट्रिय अनुसन्धान विभाग कमजोर बनेको हो ।

विभागमा करिब तीन महिनादेखि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआइजी)को एक पद रिक्त छ । त्यसमा चर्काे प्रतिस्पर्धा हुँदा बढुवाको निर्णय हुन सकेको छैन । एआइजीको बढुवा नहुँदा तलसम्म त्यसको असर छ ।

रिक्त एआइजी पदमा अनुसन्धान निर्देशकहरु हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, हरिहर शर्मा पौडेल, सुनिल ढकाल, कुलदेव थापा र सुमन बैद्यबीच प्रतिस्पर्धा छ । विभागमा एआइजीको एक मात्र पद छ । त्यो पनि तीन महिनादेखि रिक्त छ । बढुवामा अनावश्यक चलखेलले यस्तो अवस्था आएको हो ।

बढुवाका लागि नेताहरु सत्तारुढ दलको दैलो त धाउने नै भए पछिल्लो समय विदेशी चलखेल समेत देखिएको छ । नेपालमा चासो राख्ने छिमेकी लगायत देशका व्यक्तिहरु समेत आफू अनुकुल व्यक्तिलाई विभागको एआइजी बनाउन लबिइङमा लागेका छन् । अहिले जो एआइजी हुन्छ भदौको तेस्रो साता उही प्रमुख हुने भएकाले पनि एआइजी बढुवा पेचिलो भएको हो । जसले गर्दा कतिपय विदेशीहरु समेत सक्रिय भएका हुन् । गुप्तचरमा यसअघि मुस्ताङ अप्रेसन लगायतका गतिविधिमा विदेशी चलखेल बाहिर आइसकेको छ । बढुवाको चलखेलमा विभागकै केही पूर्व प्रमुखहरु समेत लागेका छन् ।

बढुवा ठप्प हुँदा त्यसको मारमा तल्लो तहका अधिकृत परेका छन् । एआइजी रोकिदा डिआइजी, एसएसपी, एसपी, डिएसपी लगायत पदको बढुवा पनि रोकिएको छ । अधिकृत तहमा मात्र हाल ५० भन्दा धेरै पद रिक्त छन् ।

करिब दुई हजार जनशक्ति रहेको विभागमा यति धेरै पद रिक्त हँुदा काम कारबाही नै प्रभावित बनेको छ । समयमा बढुवा नहुँदा कतिपय अधिकृतहरु जागिर छाड्ने मनस्थितिमा समेत पुगिसकेका छन् । विभागका प्रमुख यदुलाल खरेलको कमजोर कमाण्डले पनि विभाग यस्तो अवस्थामा पुगेका गुप्तचर अधिकारीहरु बताउन थालेका छन् । ‘प्रधानमन्त्री मातहतकै विभाग यस्तो अवस्थामा छ,’ एक अधिकारी भन्छन्,‘देशका अन्य निकायको अवस्था के होला ?’

प्रतिक्रिया दिनुहोस्