Logo
Logo

कर्मचारी कुट्ने ‘सुन डन’ प्रहरी हिरासतमा


1014k
Shares


काठमाडौं । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई अनुगमनका क्रममा कुटपिट गर्ने फोहोर संकलन तथा व्यवस्थापनका ठेकेदार सुभास घिसिङ पक्राउ परेका छन् ।

फोहोर संकलनको ठेक्का चलाउने उनले समितिका कर्मचारी बलराम श्रेष्ठलाई सोमबार कुटपिट गरेका हुन् । जिउभरी सुन लगाउने घिसिङ ‘सुन डन’का नामले पनि चिनिन्छन् । उनी गुन्डागर्दीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

बागमती किनारमा फोहोर संकलन गरेको विषयमा समितिले पत्र लेखेर उनलाई त्यसो नगर्न चेतावनी दिँदै आएको थियो । समितिको क्युआरटी टिममा रहेका श्रेष्ठले गुहेश्वरी नयाँपुलको क्षेत्रमा अनुगमन गरी फोहोर फालेको भिडियो खिच्दै गर्दा घिसिङले कुटेका हुन् । उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । कर्मचारी श्रेष्ठको टाउकोमा चोट लागेको छ ।

‘हामीले निजी जग्गामा फोहोर संकलन गरेर व्यवसाय गर्न भनेर भन्दै आए पनि उनले मानेका थिएनन्,’ समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भने, ‘आज त अनुगमनको क्रममा कर्मचारीमाथि नै कुटपिट गरे ।’ उनले सडक नै छेकेर फोहोर राख्ने र बागमती किनारमा समेत जम्मा गर्दै आएको स्थानीयले समेत गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्