Logo
Logo

प्रहरीमा गृहमन्त्रीभन्दा बिचौलिया बलिया


189.5k
Shares

काठमाडौं । नेपाल प्रहरीको हालैको सरुवा–बढुवामा गृहमन्त्री भन्दा बिचौलिया शक्तिशाली देखिएका छन् । गृहमन्त्रीले नचाहेका व्यक्ति बढुवामा अटाएका छन् भने उनले चाहेकालाई पनि अघि बढाउन सकेनन् ।

डिआइजी बढुवामा अशोक सिंहले छलाङ मारे । काठमाडौं परिसरको प्रमुख हुँदा गृह मन्त्रालयले सिंहलाई हटाउँदा उनले बिचौलिया प्रयोग गरी बालुवाटारबाट आफ्नो सरुवा रोकाएका थिए । त्यसयता नै गृहमन्त्री बालकृष्ण खाणले उनलाई रुचाएका थिएनन्, तर, बालुवाटारलाई प्रभावमा पारेर उनी १९ बाट तेस्रो नम्बरमा बढुवा मात्र भएनन्, पोष्टिङ समेत बिशेष ब्यूरोमा पार्न सफल भए । जबकी वर्षाैसम्म बिशेष ब्यूरोमा बसेर विज्ञता कमाएका टेकप्रसाद राईलाई सो जिम्मेवारी दिइएन । बालुवाटारकै चलखेलका कारण बरियतामा अघि रहेकाहरु प्रकाश देउवालाई पैसा बुझाउन नसक्दा पछि पारिएका छन् ।

एसएसपी बढुवामा पनि क्षमता नभएका तर पैसा भएकाहरु हाबी भएका छन् । छानबिन तथा कारबाहीमा तानिएका सिद्धिबिक्रम शाह, ओमबहादुर राना, बिनोद घिमिरे, सुरेन्द्र गुरुङ, दिलिपसिंह देउजा, संजीव शर्मा दास लगायत बढुवामा अटाएका छन् । उनीहरु सबै गुप्तचरबाट आएका टोली हुन् । कांग्रेस भएकै कारण आफूहरु गुप्तचरमा भर्ना भएको र कांग्रेस भएकै कारण प्रहरीमा स्थानान्तरण भएकाले अहिलेके कांग्रेस सरकारले आफूहरुलाई हेर्नुपर्ने भन्दै उनीहरुले लबिइङ गरेका थिए । उनीहरुको कारण प्रहरीको १११ र ११२ को टोलीका अधिकृतको करिअर प्रभावीत बनेको थियो । यसपटक त्यो गल्ती सच्याउनुपर्ने माग उठेपनि उनीहरुको चलखेलका सामु प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह समेत निरिह बनेका छन् ।

एसएसपी सरुवा पनि विवादमुक्त हुन सकेन । कतिपय क्षमता नै नभएकालाई महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिइएको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयको प्रमुख बनाइएका जनक भट्टराई अपराध अनुसन्धानमा कमजोर मानिन्छन् । उपत्यका ट्राफिक समेत चलाइसकेका उनले एसएसपीमा मात्र तीन वटा इन्चार्ज पाइसकेका छन् । काठमाडौं परिसरको प्रमुख भएका भरत बोहरा पनि शेरबहादुर देउवाको पूर्व पिएसओ भएकै आधारमा त्यहाँ जाने अवसर पाएका हुन् ।

मानवबेचबिखन अनुसन्धान ब्यूरोमा क्षमता नभएका अनुराग द्वीवेदीलाई पठाइएको छ । जबकी निर्मला पन्त प्रकरणपछि कञ्चनपुरमा आगो बलेको बेला कमान्ड सम्हाल्ने कुबेर कडायतलाई बढुवामा मात्र होइन सरुवामा पनि अन्याय भयो । प्रहरी प्रवक्ताका रुपमा खटिएका विष्णुकुमार केसीलाई पनि सरुवा–बढुवामै अन्याय भएको छ ।

उता एसपी बढुवामा पनि त्यस्तै चलखेल हुने सम्भावना छ । एसपी बढुवामा पनि बालुवाटार निकट बिचौलियाहरु सक्रिय छन् । प्रहरी बढुवाको सूची गृह मन्त्रालयमा नभई बालुवाटारबाट फाइनल हुने थाहा पाएपछि प्रहरी अधिकारी पनि गृहमन्त्री भन्दा बालुवाटारको बिचौलियाको पछि लाग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्