Logo
Logo

प्रहरीमा दुई करोडको चेकले तरंग


786.9k
Shares

काठमाडौं । चेक बाउन्सका उजुरी प्रहरीको कमाईको प्रमुख माध्यम बनेको छ । सुरुमा थर्काएर पैसा उठाउने, नभए पक्राउ गरेर मिलापत्र गराउने, तैपनि कुरा नमिले बैंकिङ कसुर मुद्दा चलाउने । काठमाडौं प्रहरीमा त दिनमै दर्जनौं यस्ता उजुरी पर्ने गरेका छन् । कतिपय चेक करोडौंका लेनदेनका समेत हुने गरेका छन् । धेरै जसो मिटरब्याज, जुवा तथा अन्य अवैध कारोबारसँग जोडिएका चेक बाउन्ससम्बन्धि उजुरी समेत प्रहरीमा पुग्ने गरेका छन् ।

यस्तै एउटा चेक प्रकरणले काठमाडौैं प्रहरीमा यतिबेला तरंग मच्चिएको छ । जुवाखालमा खाली चेकहरु लिएर एक युवकले करोडौं रकम भरेर प्रहरीमा सेटिङ मिलाएर पैसा असुल्न खोजेका हुन् । जुवा खेलाउने तथा घरजग्गाको कारोबार गर्ने सुभाष भेटवालले यसरी पैसा कमाउने योजना बनाएका हुन् । भेटवाललाई गत साता प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध अपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ । तर, उनलाई छुटाउन उच्च प्रहरी अधिकारी नै लागेपछि काठमाडौं परिसरका प्रहरी अधिकारी चकित भएका छन् ।

यो घटना जुवा मुद्दासँग जोडिएको प्रहरी स्रोत बताउँछ । गत २२ असोजमा दशैंको माहोल थियो । भेटवालले सिन्धुलीका राजकुमार बराललाई जुवा खेल्न बानेश्वरस्थित आफ्नो अफिसमा बोलाए । केही जितको रकम भेटवालले चेकमार्फत लिए । हस्ताक्षर गरिएका थप चेक पनि उनले त्यही बीचमा लिन सफल भए । ती चेकमा दुई करोड २९ लाख रुपैयाँ आफैंले भरे ।

बरालले भोलिपल्टै आफ्नो चेक चोरी भएको भन्दै बैंकलाई जानकारी गराएका थिए भने प्रहरीमा समेत उजुरी दिएका थिए । बानेश्वर वृत्तले घटनास्थलको मुचुल्का समेत ग¥यो, जुवा खेलेको पत्ता लाग्यो, तर त्यसतर्फ अनुसन्धान हुन सकेन । उता भेटवालले काठमाडौं प्रहरीका तत्कालिन एसएसपी अशोक सिंहलाई प्रभावमा पारेर उल्टो बराललाई तर्साउन थाले । विवाद चर्किँदै गयो । कतिसम्म भने संसदको राज्य व्यवस्था समितिमा समेत यो विषयले प्रवेश पायो । समितिले यसमा प्रहरीको गल्ती देखायो ।

प्रहरी प्रधान कार्यालयले छानबिन गरी दोषी प्रहरीलाई कारबाहीको सिफारिस गरेको थियो । प्रहरी प्रधान कार्यालयले तत्कालिन डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । सो समितिले गैरव्यवसायिक गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । कारबाही सिफारिस भएका सिंह प्रकाश देउवाको बुइँ चढेर फड्को मार्दै डिआइजीमा बढुवा भइसकेका छन्, उता यो विषयले काठमाडौं प्रहरीमा फेरि हलचल मच्चाएको छ ।

भेटवालले चेकमा भएको रकम पैसा असुलिदिए आधा पैसा प्रहरीलाई दिने सहमति गरेको समेत प्रहरी प्रधान कार्यालयको छानबिनमा देखिएको थियो । त्यति धेरै रकम के–को कारोबार हो भनेर स्रोत नखोली अपराधिक गिरोहमै प्रहरी मिलेको जस्तो देखिएको अवस्था छ । पछि प्रहरीले अनुसन्धान गर्दा भेटवालले सो रकमको स्रोत खोल्न नसकेपछि अपराधिक लाभ लिन खोजेको पुष्टि भयो । सोही आधारमा जिल्ला अदाललते पक्राउ पूर्जी जारी गरेको थियो । तर, महिनौंसम्म भेटवाल प्रहरीलाई प्रभावमा पारेर जोगिन सफल भएका थिए ।

अहिले पक्राउ परेपछि पनि उनी प्रहरी अधिकारीलाई नै प्रभावमा पारेर सहजै छुट्ने प्रयासमा लागेका छन् । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार मुद्दा कमजोर बनाउन भन्दै उच्च प्रहरी अधिकारीले दबाब दिइरहेका छन् । ‘यस्ता व्यक्तिलाई जोगाउन हाकिमहरु लागेको देखेर अचम्म लागेको छ,’ ती प्रहरी अधिकारीले भने । भेटवाल नामुद जुवाडे र मिटरब्याजी भएको सूचना प्रहरीले पाएको छ ।

यो घटनामा काठमाडौं प्रहरी ठूलो विवादमा तानिएको थियो । एसएसपी सिंहको सरुवा भएपनि उनले अन्तिम दिन बिचौलिया ओम श्रेष्ठलाई सो चेक फिर्ता दिएका थिए । श्रेष्ठलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । उ

नी सशस्त्र प्रहरीका पूर्व सई हुन् । उनले अवैध धन्दाबाट अकुत सम्पत्ति कमाएका छन् । श्रेष्ठमार्फत नै भेटवालले प्रहरीमा यस्तो सेटिङ मिलाएको छ । भेटवाल र श्रेष्ठको सम्पत्ति समेत छानबिनका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउनेबारे छलफल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्