एजेन्सी । बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूलेश्रीलंकाको सङ्कट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाद शसस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलंकास्थित सम्वाददाताले पुष्टि गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलंकाको सङ्कटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् ।
यसैबीच, श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ । प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।
राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने
श्रीलंकाको वायुसेनाको विमानमार्फत् माल्दिभ्स पुगेका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष बुधबार सिङ्गापुर जाने उनी निकट स्रोतले जनाएको श्रीलंकाको पत्रिका डेली मिररले जनाएको छ । उनी बुधबार विहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलंकाबाट माल्दिभ्सतर्फ गएका थिए ।
जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजापाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उनले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए ।
श्रीलंकाले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ ।