Logo
Logo

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत


63
Shares

काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । विहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाखको बजेट स्वीकृत गरेको छ ।

बोर्डले अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण कार्यक्रम, अलपत्र कामदारहरूको उद्वार तथा राहत कार्यक्रम, निशुल्क सीप तालिम,
सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगार सम्वन्धी अभिमुखीकरण, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारी सम्वन्धी सूचना तथा परामर्श, पुनः एकीकरण कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो ।

त्यस्तै नेपाली श्रमिकहरुको सामाजिक तथा स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रशिक्षण, अध्ययन तथा अनुसन्धान र सरोकारवालाहरुसँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धी गर्ने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मार्यादित र सम्मानित बनाउनका लागि बोर्डले आगामि दिनमा विषेश काम गर्ने बताए ।

उनले बोर्डबाट प्रवाह हुने सेवालाइ सरल, सहज र प्रविधिमैत्री बनाइ सुशासन प्रवर्द्धन गर्नका लागि पहल गर्ने बताए । अहिले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले थुपै समस्या भोगिरहेकाले उनीहरुका समस्यालाई पनि बोर्डले सम्बोधन गर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई मन्त्री कुँवरले आग्रह गरे ।

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । बोर्डको नियमित कार्य संचालन बैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ ।

बोर्डको अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेन्छन् भने बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्