Logo
Logo

गठबन्धनले भारतसँग चलखेल बढायो : शंकर पोखरेल


567
Shares

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतसँग चलखेल बढाएको आरोप लगाएका छन् ।

आइतबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई लिएर सो आरोप लगाएका हुन् ।

‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ’ महासचिव पोखरेलले भने, ‘यसले नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’ सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउनलाई यो दौडाहा भएको उनको आरोप छ ।

उनले भने, ‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ । राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’ विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।

अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको प्रश्न उठेको बतउँदै उनले भने, ‘यो यति गम्भीर विषय हो कि कुनै बेला २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गर्छौं, गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’

अर्थतन्त्र जस्तो संवेदनशील विषयमा अवान्छित व्यक्तिहरुको सहभागीतामा बजेट निर्माण गर्ने खालको कामले समग्र राष्ट्रको शीर झुकेको उनको भनाइ छ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा उनीमाथि आक्रमण भएको पोखरेलले बताए । गभर्नरबारे सञ्चार माध्यमहरुले प्रायोजित हल्ला चलाएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्