काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ ।
सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद रहेकोमा लिम्बुलाई फसाउने खोजिएको प्रहरी कार्यालयको छानबिनमा खुलेको हो ।
गत २३ असारमा प्रहरी वृत्त गौशालाका प्रहरीले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेका थिए । सिसिटिभी क्यामेरामा उनको मोटरसाइकलमा केही समयअघि मात्र एक युवकले त्यसरी बिना राखिदिएको देखिएको छ । अनुसन्धानका क्रममा नियोजित रुपमा उनलाई फसाउन खोजिएको पुष्टि भएको हो ।
यसमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका घुुमवा र गौशला वृत्तका प्रहरी संलग्न थिए । सूचना भेरिफाई नगरी गलत व्यक्तिको मतियार बनेका घुुमवा प्रहरी तथा गौशला वृत्तका डिएसपी लगायत छानबिनमा रहेका छन् ।
घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।
यसअघि रौतहटमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउने प्रयास भएको थियो । त्यसमा संलग्न एसपीलाई कारबाही नगरी हालै पुरस्कृत गरिएको छ ।
हालै ललितपुरमा पनि प्रतिशोध साध्न स्कुटरमा पेस्तोल राखेर फसाउने प्रयास भएको थियो । प्रहरीले सुरुमा राम्रोसँग अनुसन्धान नगर्दा पीडित युवक दुई हप्तासम्म हिरासतमा बस्नुपरेको थियो ।
यी घटनाले पक्राउ पर्नेमध्ये कतिपय यसरी नक्कली अपराधमा फस्ने गरेको आशंका बलियो भएको छ ।