Logo
Logo

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री


315
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए ।

नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गरे ।

उनले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भने । उनले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गरे ।

प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्