Logo
Logo

ट्राफिक नियम नमान्नेबाट ६४ लाख राजस्व सङ्कलन


252
Shares

म्याग्दी । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ४ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरेर ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९ सय ५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३ सय ४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप÷कार चालकबाट २९ लाख ६२ हजार, ५३६ बस चालकबाट तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा ९ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए । आव २०७७/७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो ।

आव २०७६/७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर २२ लाख १९ हजार, २०७५/७६ मा ६ हजार २ सय सवारीसाधनका चालकबाट ४१ लाख ९३ हजार तथा आव २०७४/७५ मा ८ हजार ४ सय सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए ।

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए । प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्