Logo
Logo

माओवादी- एम अधिकारी खोइ ?, एमाले- सीसीटीभी फुटेज खोइ ?


3.1k
Shares

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकअर्काप्रति खनिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा एमालेले अर्थमन्त्रालयसँगको विवाद उठाएको थियो भने माओवादीले एमालेको अर्थ तथा योजना विभागको एम. अधिकारीबारे प्रश्न उठाएको थियो ।

एमालेका सांसदहरुले अर्थमन्त्रालयको सीसीटीभी र अर्थ सचिव मधु मरासिनीको आलोचना गरेका थिए भने माओवादी सांसदहरूले एमालेको अर्थ विभागमा बसेका एम. अधिकारी को हो ? भन्दै प्रश्न गरेका थिए ।

माओवादी सांसद सुरेश आले मगरले एमालेको अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारीको पहिचान खुलाउनुपर्ने बताएका थिए । एम अधिकारीबारे घरघरमा प्रश्न र आशंका उब्जिरहँदा एमालेले त्यो व्यक्तिलाई किन नदेखाएको भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘एम. अधिकारी भन्ने व्यक्ति को हो ? हामी जान्न चाहन्छौं, नेपाली जनता जान्न चाहन्छन् । एमालेले यसबारे स्पष्ट पारिदिनुभए राम्रो हुन्थ्यो ।’

उनले एउटै व्यक्ति राष्ट्र बैंकको गभर्नर र एमालेको अर्थ तथा योजना विभागमा बस्न नपाउने बताए ।

माओवादी अर्का सांसद मायाप्रसाद शर्माले पनि एम. अधिकारी को हुन् भनेर प्रश्न उठाएका थिए । उनले भने, ‘अहिले चर्चामा आएका एम. अधिकारी को हुन् ? गभर्नर नै हुन् भनेर ठान्नुभएन । तिनी कहाँ बस्छन् ? के गर्छन् ? अर्थ विभागमा बसेको सही नै होला त्यो चासको विषय भएन ।’

उनले एम अधिकार गर्भनर हुन कि होइन भन्ने चासोको कुरा बनेको बताए । एक अधिकार गभर्नर भए राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘एम अधिकारी र महाप्रसाद अधिकारी एउटै बाबुका, एउटै उमेर भएका, एउटै बेला जन्मिएका छोरा हुन् या होइनन् त्यो चासोको कुरा बनेको छ । त्यसो हो र ती गभर्नर हुन् भने स्पष्ट पार्नुर्पयो । त्यसो हो भने तत्काल गभर्नरले राजीनामा दिनुपर्छ ।’

माओवादी सांसदहरुले एम आधिकारी खोज्दा एमाले सांसदहरुले भने अर्थमन्त्रलयाको सीसीटीभी फुटेज खोइ भन्दै प्रश्न गरेका थिए ।

एमाले सांसद विमला राई पौड्यालले अर्थमन्त्रालयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको विषय लक्षित गर्दै प्रश्न गरेका थिए ।

उनले अर्थ सचिव मधु मरासिनीले संसदीय छानबिन विशेष समितिमा गरेको प्रस्तुतिलाई लक्षित गर्दै उनले भनिन्– मैले अर्थ मन्त्रालयको सुशासनको विषय उठाउन खोजेको । सचिव डराउँछन् । संसदीय समितिसँग बोल्न सकेनन् रे ! आँशु आयो रे ! कतिपय बेलासम्म प्रश्न गर्न सकिएन रे ! जनयुद्धको धङधङी गएको छैन ? किन डराएका सचिव ? किन सचिव विदामा बसेको, यो मन्त्रीसँग काम गर्न सक्दैन भनेर विदामा जाने । मन्त्रीले राजीनामा गरेको भोलिपल्ट फर्किने !’

एमालेका अर्का सांसद भैरवसुन्दर श्रेष्ठले भने एम. अधिकारी र महाप्रसाद अधिकारीको विषयमा एमाले केन्द्रीय कार्यालय, एमालेको अर्थ तथा योजना विभागले बोलिसकेपछि बारम्बार उठाउनु ठिक नभएको बताएका थिए ।

उनले भने, ‘महाप्रसाद अधिकारी र एम। अधिकारीको विषयमा बारम्बार कुरा उठ्ने गरेको छ । वास्तवमा यसको विषयमा पार्टीले, विभागले, केन्द्रीय कार्यालयले बोलिसकेपछि बारम्बार कुरा उठाउँदा कति ठिक र कति बेठिक हो ?’

माओवादी सांसदले उठाएको एम.अधिकारीको विषयमा एमाले सांसद एक शब्द पनि बोलेनन् । माओवादी सांसद पनि सीसीटीभी फुटेजबारे मौन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्