Logo
Logo

अल्लोले उद्यमी मालामाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

बागलुङ, १०, साउन । जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भांग्रा बनाउँदै आएका छन् ।
ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए ।
ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन् । परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन् ।
अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गंगा घर्तीमगरले बताइन् । विगत ६ वर्ष अल्लोको कडा उत्पादन गर्दै आएकी ४५ वर्षीया गंगा भन्छिन्, ‘बागलुङसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन् ।’
जंगलबाट संकलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ ।
उद्यमीहरुका अनुसार ६०÷७० मिटरको तानमा बुनेको कपडालाई रु ३५ हजारसम्म बिक्री हुने गर्दछ । यस्तै हातले बुनेको झोला, गन्जी, भांग्रालाई रु तीन÷तीन हजार, सललाई रु दुई हजारमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताइन् ।
केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले रु सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ । ‘हातले गर्दा कयौँ दिन लाग्थ्यो’, रोकाले भने, ‘उपकरणका सहायताबाट काम गर्दा लागत कम उत्पादन धेरै भएको छ ।’ अहिले यस केन्द्रमा झण्डै ३०० मिटर कपडा बिक्रीका लागि तयार पारिएको छ ।
स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ । स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ । ‘अहिले कपडाको माग ह्वात्तै बढेपछि अल्लोको धागोबाट कपडा बुन्न भ्याइनभ्याइ भएको छ’, रोकाले भने, ‘यस्तै माग बढेमा अल्लोको उत्पादनलाई औद्योगीकरण गर्न आवश्यक देखिन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्